फोटो फिचर
फोटो फिचर
झापा, १४ साउन । मेचीनगर नगरपालिकाका १५ वडामध्ये विकास निर्माणका दृष्टिले पछाडि परेको वडा नं. १५ अर्थात् साविक ज्यामिरगढीमा भर्खरै जिल्लाकै दोस्रो लामो झोलुंगे पुल बनेको छ ।
निन्दा नदीमा रु. चार करोड ३८ लाखको लागतमा बनेको उक्त झोलुङ्गे पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको छ ।
पुलले उक्त वडाको सदरमुकाम विचार्नी बजारलाई हेल्दुबारी गाउँसँग जोडेको छ । उक्त स्थानमा पक्की पुल बनोस् भन्ने ज्यामिरगढीबासीको चाहना थियो । झोलुंगे नै सही, बन्न त पुलै बन्यो नि भन्दै खुशी छन् स्थानीयबासी ।
पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटर उत्तरमा रहेको पूर्वपश्चिम राजमार्ग वा त्यति नै दूरीमा रहेको भद्रपुरको घुमाउरो बाटो धाउन बाध्य थिए ।
पुल उद्घाटन हुन बाँकी नै छ । तर, ज्यामिरगढीबासीको मन पुलसँगै रमाउन थालिसकेको छ । सबैलाई खोला तर्न सुविधा भएकै छ । मानिसहरु दिनहुँ पुलमा गएर रमाइलो मान्छन् । फोटो र भिडियो खिच्छन् । युवाहरु फेसबुक र टिकटकमा पोस्ट गर्छन् ।
नयाँ पर्यटकीय गन्तब्य बनिरहेको यो पुलको केही ताजा फोटो हेर्नुहोस् ।