झापा, १७ साउन । बैदेशिक रोजगारीको बहाना बनाएर भारत पुर्याइएका सात जना नेपाली किशोरीलाई सीमावर्ती पानीटंकी नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ ।
ती किशोरीहरुलाई भारत पुर्याउने दुई जना पुरुषलाई समेत मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार शुक्रवार भारतीय प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि सातै जना किशोरी र अभियुक्तहरुलाई खोरीबारी प्रहरी थानामा राखिएको छ । उद्धार गरिएका किशोरीहरु संखुवासभा जिल्लाका रहेका छन् ।
किशोरीहरुलाई भारत पुर्याउने अभियुक्तमध्ये एकजना भारतको दार्जीलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् भने अर्का व्यक्ति संखुवासभा जिल्लाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन् ।
अभियुक्तहरुले बैदेशिक रोजगारका लागि हङकङ लैजाने भनेर उनीहरुलाई नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै सीमावर्ती भारतीय पानीटंकी नाका पुर्याएका थिए । किशोरीहरुको आधार कार्ड लगायतका नक्कली कागजात बनाउन सिलिगुढी लैजान लागेको बेला भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
नेपाली किशोरीहरुलाई नेपाल ल्याउन माइती संयोजक घिमिरे सहितको माइती नेपालको टोली शुक्रवार नै पानीटंकी पुगेको थियो । तर, कानुनी प्रक्रिया मिलाउनु पर्ने कारण देखाएर भारतीय प्रहरीले उनीहरुलाई खोरीबारी प्रहरी थानामै राखेको उहाँको भनाई छ ।
उक्त घटना बारे भारतीय प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।