१७ भदौ २०८२, मङ्गलवार

मिलन राजवंशीले सुरु गरे कचनकवलदेखि ताप्जेलुङसम्म एकल साइकलयात्रा

१६ भदौ २०८२, सोमवार
Image

झापा, १६ भदौ । युवाहरुलाई कुलतबाट बचाउने सन्देश प्रवाह गर्ने उद्देश्यले मेचीनगरका मिलन राजवंशीले आजदेखि होचो स्थान कचनकवल स्तम्भबाट ताप्लेजुङको पाथीभरा मन्दिरसम्म एकल साइकलयात्रा सुरु गर्नुभएको छ । 

राजवंशीले “छोड लागूपदार्थ,जोड साहस, बढ अगाडि निरन्तर” भन्ने नारासहित नेपालकै होचो भूभागलाई समेत चिनाउने अभिप्रायले यात्राको तय गरेको बताउनुभयो । 

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, कचनकवल–४ का वडाध्यक्ष नुरजामा मिया, भद्रपुर साइकल क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठलगायतले कचनकवलको पहिचान झल्कने सामग्री र टी–सर्ट प्रदान गरी राजवंशीलाई बिदाई गर्नुभएको छ ।

उहाँ मेचीनगर–९ धुलाबारीस्थित द हिमालयन मल्टिपल कलेज वीवीएस दोस्रो वर्षमा अध्ययन गर्दै हुनुहुन्छ । युवाहरुमा बढ्दै गएको लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि गाउँ गाउँमा सचेतना फैलाउन आवश्यक रहेको राजवंशीको भनाई छ । 

आर्थिक बर्ष २०८२/८३ को साउन महिनामा जिल्लामा २७ जना लागूऔषधमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।