१८ भदौ २०८२, बुधवार

कोशी प्रदेश : पर्यापर्यटनमा सक्रिय बन्दैछन् सामुदायिक बन

१७ भदौ २०८२, मङ्गलवार
Image

झापा, १७ भदौ । कोशी प्रदेशका नौ वटा जिल्लाका ५४ वटा सामुदायिक बनले आयआर्जन गर्ने उद्देश्यले पर्यापर्यटनको गतिविधि सञ्चालन गरिरहेका छन् । जसमध्ये आधाभन्दा बढी सिमसार क्षेत्र छन् ।

पर्यटक आकर्षित गर्ने यी सामुदायिक बनहरुमध्ये २३ वटा झापा जिल्लामा छन् भने नौ वटा सुनसरीमा र सात वटा मोरङमा रहेका छन् । उदयपुरको पाँच वटा, धनकुटाको तीन वटा, तेह्रथुमको तीन वटा, इलामको दुई वटा, ताप्लेजुङको एउटा र संखुवासभाको एउटा सामुदायिक बन पर्यापर्यटनमा सक्रिय रहेको कोशी प्रदेशको बन निर्देशनालय धरानका सहायक बन अधिकृत सुशान्त पोखरेलले बताउनुभयो ।

बन पैदावारको संरक्षण, उत्पादन र विक्री वितरण गर्ने परम्परागत क्रियाकलापबाट अघि बढेर सामुदायिक बनहरु पर्यापर्याटनको क्षेत्रमा अग्रसर भइरहेका छन् । पर्यापर्यटनमा लागेका अधिकांश सामुदायिक बनले आफ्नो बन क्षेत्रमा रहेको प्राकृतिक सिमसार र पोखरीलाई पर्यटक आकर्षण गर्ने माध्यम बनाएको पाइएको छ ।

प्रादेशिक बन निर्देशनालयका सहायक बन अधिकृत पोखरेलका अनुसार ५४ मध्ये ३३ वटा सामुदायिक बनले सिमसारलाई पर्यटकीय क्षेत्र बनाएका छन् । अधिकांश सामुदायिक बनले बनभोज, नौका बिहार, मिनी चिडियाखाना, बाल उद्यान, मनोरञ्जनात्मक खेल, बन उद्यान र सेल्फी खिच्ने ठाउँको रुपमा आफ्नो क्षेत्रलाई पूर्वाधारसहित आकर्षक बनाएका छन् ।

तीन वटा सामुदायिक बनमा मिनी चिडियाखाना र अरु दुइ वटामा बन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा छन् । पर्यटकहरु चिडियाखानामा राखिने जीव जन्तु र पंछी हेर्न झुम्मिने गरेका छन् ।

कचनकबलको दुर्गाभिट्टा सामुदायिक बन र कनकाईको जामुनबारी सामुदायिक बनमा बन्यजन्तु उद्धार केन्द्र रहेको छ । सर्वसाधारण तथा डिभिजन बन कार्यालयले अन्यत्रबाट उद्धार गरेका जंगली पंछी र जनावरहरु संरक्षणका लागि यिनै उद्धार केन्द्रमा पठाउने गरेको कचनकबलस्थित दुर्गाभिट्टा सामुदायिक बनका अध्यक्ष धनराज गुरुङले बताउनुभयो ।

कोशी प्रदेशका तीन वटा मिनी चिडियाखानामध्ये दुई वटा मोरङ र एउटा सुनसरीमा रहेको छ । बेलबारीको बेतना सिमसार सामुदायिक बन, पथरी शनिश्चरेको मनकामना सामुदायिक बन र धरानको हरियाली सामुदायिक बनमा बनभोज र नौका बिहारसँगै मिनी चिडियाखाना समेत रहेको छ ।

हरियाली, शान्त ठाउँ र मनोरम पोखरी भएका कारण सामुदायिक बनभित्रका प्राकृतिक सिमसारहरु प्रदेशका उम्दा पर्यटकीय स्थलको रुपमा विकसित भइसकेका छन् । राज्यले समेत यहाँ करोडौंको भौतिक संरचना निर्माणमा लगानी गरिसकेको छ । कोशी प्रदेशमा तीन हजार ७२१ वटा सामुदायिक बन रहेका छन्