झापा, १८ भदौ । अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीको आयोजनामा पहिलोपटक डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
धुलाबारी माविमा भएको उक्त प्रतियोगितामा २२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा शहीद दशरथ माविले प्रथम स्थान हासिल गर्दै नगद रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । द्वितीय स्थानमा पाएको इस्ट होराइजन माविले रु. ७ हजार प्राप्त गरेको थियो । तृतीय स्थान पाएको बाल सुबोधनी माविले रु. पाँच हजारको पुरस्कार प्राप्त गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय उपमहासचिव कमल जोशीले युवाहरुलाई ज्ञान, सीप र प्रविधिमा सशक्त बनाउन अनेरास्ववियु निरन्तर अगाडि बढिरहेको बताउनु भयो ।
उहाँले मेचीनगरमा भएको डिजिटल हाजिरीजवाफ देशभरका विद्यार्थी संगठनका लागि प्रेरणादायी हुने टिप्पणी गर्नुभयो ।
नेकपा (एमाले) मेचीनगर नगर कमिटी अध्यक्ष राजु कार्कीले शुभकामना मन्तव्य दिँदै विद्यार्थीहरूको सिर्जनशीलता र प्रतियोगितामा देखिएको उत्साहले भविष्यमा शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउने धारण व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले), युवा संघ नेपाल र अनेरास्ववियुका विभिन्न तहका नेताहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो । करिब ३०० विद्यार्थीको सहभागिता रहेको सो कार्यक्रमको अध्यक्षता त्रिदेव क्याम्पस कमिटीका अध्यक्ष कैलाश रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपाल बुढाथोकीले नविन प्रविधिमा आधारित कार्यक्रमको सराहना गर्दै आयोजकलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सहसचिव रोशनी मेचेको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन क्याम्पस कमिटी सचिव मनिषा सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष ईश्वर रिजालले गर्नुभएको थियो । हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन उत्सव भट्टराईले गर्नुभएको हो ।