झापा, २१ भदौ । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारणसभाले पूर्वशिक्षक गोपाल राउतको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
संस्थाको साधारणसभा आज धुलाबारीको मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको थियो । सभाले आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक समितिका सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कुस्मी चौधरी, सचिवमा रमेशप्रसाद बराल तथा सदस्यहरूमा जोगेन राजवंशी, खड्गबहादुर राउत, मणिराम खतिवडा, कूलप्रसाद कट्टेल, सोमप्रसाद ओली र गंगा बुढाथोकीलाई चयन गरिएको छ ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा उदय बराइली तथा सदस्यहरूमा धर्मेन्द्र खड्का र रमेशप्रसाद दाहाल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
साधारणसभा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष महेन्द्र गिरीको प्रमुख आतिथ्यमा भएको थियो ।
उहाँले देशभरि समस्यामा परेका पाँच सय सहकारीमध्ये ४२ वटा समस्याग्रस्त अवस्थामा रहेको र झापामा १० वटा समस्याग्रस्त रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा लगायतका वक्ताले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
सोही समारोहमा नियमित बचततर्फ ज्यामिरगढीका उत्कृष्ट शेयर सदस्य राजुशील शर्मा, खुटिडाँगीकी नारायणी बाँस्तोला, बाल बचततर्फ धाइजनकी श्रीयान्सी गिरी र काँकरभिट्टाका आर्यमान पौडेल, नियमित ऋणतर्फ ज्यामिरगढीका उत्कृष्ट शेयर सदस्य दयामुनी पाहान र नरेश भण्डारी, ज्येष्ठ नागरिकतर्फ ज्यामिरगढीका उत्कृष्ट शेयर सदस्य शेरबहादुर लिम्बु र भृकुटीकी टंकमाया कार्की, सफल व्यवसायी वा उद्यमीतर्फ ज्यामिरगढीका उत्कृष्ट शेयर सदस्य सञ्जय राजबंशी, संरक्षित पूँजी फिर्ता कोष वितरणतर्फ इटाभट्टातर्फकी पार्वती कार्की खड्कालाई नगदसहित सम्मान गरिएको थियो ।
संस्थाले उत्कृष्ट कर्मचारीतर्फ भृकुटी सेवा कार्यालयकी कनिष्ठ सहायक तृतीय सन्तकला माझीलाई सम्मान गरेको छ भने उत्कृष्ट सेवा कार्यालयतर्फ ज्यामिरगढी सेवा कार्यालयलाई सम्मान गरिएको छ ।
संस्थामा हाल ६ हजार ४४ जना शेयर सदस्य छन् । संस्थामा रु. तीन करोड ५६ लाख ८१ हजार शेयर पूँजी, रु. २३ करोड ६७ लाख ३१ हजार ७७१ बचत तथा निक्षेप, रु. २२ करोड ३४ लाख ४४ हजार ऋण लगानी, रु. एक करोड ४८ लाख ४८ लाख १९ हजार ७५८ विभिन्न कोषमा जम्मा, रु. तीन करोड ५१ लाख ८३ हजार ९६८ आय, रु. तीन करोड २४ लाख १८ हजार १९८ व्यय, रु. २७ लाख ६५ हजार ७६९ खुद सञ्चालन बचत, रु.३३ करोड ६८ लाख २४ हजार ४६५ कूल सम्पत्ति रहेको जनाइएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष वीपी भट्टराईले बार्षिक प्रतिवेदन र लेखा समिति संयोजक गोपालबहादुर राउतले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभामा स्वागत उपाध्यक्ष मणिराम खतिवडाले र सञ्चालन व्यवस्थापक प्रल्हाद खड्काले गर्नु भएको थियो ।