२५ भदौ २०८२, बुधवार

सडकमा निस्कियो नेपाली सेना

२५ भदौ २०८२, बुधवार
Image

झापा, २५ भदौ । गए राति १० बजेपछि सुरक्षाको नेतृत्व गर्ने भन्दै सडकमा निस्किएको नेपाली सेनाले गस्ती सुरु गरेको छ ।

झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोड, पूर्वीनाका काँकरभिट्टा र सदरमुकाम भद्रपुर क्षेत्रमा सेनाको गस्ती देखिएको छ ।

राजधानी काठमाडौं लगायत सबै सहरमा सेना सडकमा निस्किएको खबर प्राप्त भएको छ ।

विर्तामोडमा नेपाली सेनाले पूर्वपश्चिम राजमार्ग र बजार क्षेत्रमा लाइन लागेर रातिदेखि नै गस्ती गरिरहेको छ भने सैनिक गाडी धिमा गतिमा सडकमा गुडिरहेका देखिएका छन् ।

सम्वेदनशील मानिएका नेपाल आयल निगम, चन्द्रगढी विमानस्थल, सरकारी कार्यालय र बैंकहरुमा सेनाको गस्ति केन्द्रित देखिएको छ भने सडकमा हिँड्नेहरुसँग सेनाले सामान्य सोधपुछ गरिरहेको पाइएको छ ।

जेनजी आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि मुलुक सरकारविहीन अवस्थामा छ । आन्दोलनकारीले राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, सिंहदरवार, सर्वोच्च अदालत, संसद् भवन लगायत देशभरका प्रदेश र स्थानीय तहको प्रशासनिक भवनहरुमा आगजनी र तोडफोड गरेकाले देशभर असुरक्षा, अराजकता र आतंकको स्थिति उत्पन्न भएको छ ।

जेनजीको आन्दोलनले जनविद्रोहमार्फत सत्ता पल्टाएको हुँदा त्यसपछि के हुने भन्ने अन्योल व्याप्त रहेकै अवस्थामा नेपाली सेना स्वस्फूर्त सुरक्षाको नेतृत्व लिने भन्दै सडकमा निस्किएको हो ।

सेनाले जेनजीलाई वार्तामा आउन, राजनीतिक निकासको मोडालिटी तयार गर्न र देशमा शान्ति सुरक्षा कायम राख्न आह्वान गर्दै परिचालित भएको जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले फैलिदो अराजकता र निजी तथा सरकारी सम्पत्तिको क्षति पुर्याउने गतिविधि रोक्न नसकेका बेला बाध्य भएर सेना आएको हो । तथापि सेनालाई आदेश दिने र निर्णय लिने अर्को कुनै निकाय बाँकी नभएको अवस्थामा सेनाको सक्रियतालाई सबैले अपेक्षित रुपमा लिएका छन् । 

सेनाले अराजकता मच्चाउने र लुटपाट गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिन थालेको खबर आइरहेका छन् ।