झापा, २५ भदौ । जेनजीको आन्दोलन क्रममा झापामा एक जनाको मृत्यु भएको छ भने सरकारी कार्यालय र निजी सम्पत्तिमा व्यापक क्षति भएको छ ।
भदौ २४ गते दिउँसो विर्तामोड इलाका प्रहरी कार्यालय नजिक भएको झडपमा प्रहरीको गोली लागी अर्जुनधारा वडा नं. ८ निवासी २८ वर्षीय गोपाल सेढाइको मृत्यु भएको हो ।
सेढाई जेनजी आन्दोलनकारी हुनुहुन्थ्यो । उक्त झडपमा घाइते भएका एक दर्जन व्यक्तिको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
मेचीनगरमा निजी घर पनि जलाइए
जेनजी आन्दोलनको नाममा मेचीनगरको नगरपालिका भवन र अधिकांश वडा कार्यालयमा भदौ २४ गते आगो लगाइएको छ ।
मेचीनगर नगरपालिका भवनमा दिउँसो लगाइएको आगो राति अबेरसम्म बलिरहेकै थियो । आगजनीबाट नगरपालिकाको लेखा, राजस्व लगायतका महत्त्वपूर्ण शाखाका सम्पूर्ण कागजात र अभिलेखहरु जलेर खरानी भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् विश्वप्रकाश शर्मा, प्रदेश सांसद् तथा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, बागमती प्रदेशका पूर्व प्रमुख विष्णु प्रसाई, वडा अध्यक्ष मधु निरौला, संविधानसभा सदस्य रविन कोइराला, राजीनामा दिनु भएकी प्रदेश सांसद् सबिना बजगाई, पूर्व प्रदेश सांसद् श्रीप्रसाद मैनाली र मेचीनगरका प्रशासन प्रमुख अनन्त वस्तीको निजी घरमा भदौ २४ गते दिउँसो तोडफोड र आगजनी भएको छ ।
पूर्वीनाका काँकरभिट्टामा मेची भन्सार लगायत केही कार्यालयमा आगजनी भएको छ । भन्सारमा आगजनीपछि गोदाममा राखिएका मालसामान लुटपाट समेत भएको बताइएको छ ।
प्रत्यक्षदर्शीहरुले काँकरभिट्टाको जेनजी आन्दोलनमा बाहिरबाट आएका अपरिचित मानिसहरुको हुल मिसिएको र आगजनी गरेको बताएका छन् । त्यसरी घुसपैठ भएका व्यक्तिहरुले हातमा खुकुरी र तरवार समेत बोकेका थिए ।
अन्यत्र पनि उस्तै
झापाको भद्रपुर, दमक, कनकाई र विर्तामोडका नगरप्रमुखहरुको निजी घरमा समेत जेनजी आन्दोलनको नाममा आगजनी भएको छ ।
मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीको घरका सबै सामान भित्रबाट बाहिर निकालेर आन्दोलनकारीले आगो लगाएका थिए । पछि घरभित्रै आगो सल्काएका थिए ।
भद्रपुरका नगरप्रमुख गणेश पोखरेल र दमकका नगरप्रमुख राम थापाको घर पनि आनदोलनकारीले जलाएका छन् ।
कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलको दुर्गापुरस्थित घर आन्दोलनकारीले जलाएर ध्वस्त बनाएका छन् भने घरभित्रबाट ठूलो मात्रामा सुन भेटिएको भनेर अफवाह फैलाइएको छ । स्रोतका अनुसार उहाँको घरबाट ८० किलो सुन भेटिएको भनेर सामाजिक सञ्जालमा गलत प्रचार भइरहेको छ ।
नगरप्रमुखहरुको घर जलाउन अपरिचित व्यक्तिहरुको समूह आएको स्थानीयबासीले बताएका छन् । नचिनिएका र मुखमा मास्क लगाएका व्यक्तिहरुले आगजनी गरेको र त्यसो नगर भन्दा नमानेको गाउँलेको भनाई छ ।