२५ भदौ २०८२, बुधवार

दुई महामन्त्रीको प्रतिबद्धता : कांग्रेसलाई जरैदेखि पुनः निर्माण गर्छौं

२५ भदौ २०८२, बुधवार
Image

झापा, २५ भदौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज जारी अपिलमा पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको गतिमा काम गर्न नसकेको दुई महामन्त्रीले स्वीकारेका छन् ।

बेथिति र भ्रष्टाचार मौलाएको विषयलाई गम्भीर आत्मसमीक्षा गरिरहेको जारी अपिलमा उल्लेख छ ।

सत्तालाई जवाफदेही बनाउन गरेका प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा आत्माआलोचना दुई महामन्त्रीले गरेका छन् ।

‘अब फेरिएको यस परिस्थितिमा युवाहरूको आकांक्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रूपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं । हामी विश्वस्त छौं–आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको नेपाली कांग्रेस आम जनताको अपेक्षा, जेनजी युवाहरूको भावना र अन्य भिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जन उत्तरदायी दल बनेर अघि आउनेछ,’ अपिलमा भनिएको छ ।

देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन सम्पूर्ण प्रयास केन्द्रित गरिने उनीहरूले बताएका छन् ।

अपिलमा भनिएको छ, ‘परिवर्तनले सदैव अग्रगमनलाई बोक्नुपर्छ भन्ने मान्यतामा हामी दृढ ढंगले प्रष्ट छौं । संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याऔं १’

हेर्नुहोस् अपिल :