झापा, २६ भदौ । अन्तरिम सरकारको नेतृत्व कसलाई बनाउने भनेर जेनजी समूहले निर्णय गर्न सकिरहेका छैनन् ।
यसैबीच, नेपाली सेनाले जेनजीको समूहलाई नेतृत्वकर्ताको नाम प्रस्तावित गर्न आज दिउँसो जंगीअड्डामा बोलाएको थियो ।
तर, जेनजी नेताहरुबीच जंगीअड्डाकै बाहिर चर्काचर्की भइरहेको छ । काठमाडौं महानगरका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङका समर्थकबीच चर्काचर्की भएको हो ।
हर्कका समर्थकहरुले पूर्वप्रधान न्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नमान्ने बताइरहेका छन् । उनीहरुले काठमाडौंका मेयर बालेन अन्तरिम सरकारमा नजाने हो भने हर्कलाई नेतृत्व दिनु पर्ने माग गरिरहेका छन् ।
हर्कका समर्थकहरुले सुशिला कार्की राजीनामा दिएका प्रधानमन्त्री केपी शर्मा ओली निकट भएको आरोप लगाइरहेका छन् । उनीहरुले हजुरवुवा र हजुरआमा पुस्ताहरुलाई अबको नेतृत्व दिन नहुने बताइरहेका छन् ।
कार्की प्रधानन्याधीश हुँदा महाभियोग लागेकोमा ओलीले उहाँलाई जोगाएको हर्कका समर्थकहरुको भनाई छ ।
बालेन समर्थक जेनजीहरुले अहिलेको अवस्थामा संविधान र कानूनकी ज्ञाता कार्की नै सबैभन्दा उपयुक्त पात्र हुने बताइरहेका छन् ।