झापा, २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की कोशी प्रदेश सांसद् सबिना बजगाईले जेनजी आन्दोलनको नाममा प्रतिशोध साँधेर आफ्नो घरमा आगजनी, तोडफोड र सम्पत्ति लुटपाट भएको बताउनु भएको छ ।
उहाँ झापा निर्वाचन क्षेत्र नं. १ को 'ख' बाट प्रदेश सांसद् निर्वाचित हुनु भएको थियो । भदौ २४ गते राति आएका अराजक व्यक्तिहरुले मेचीनगर–१३ चारआलीस्थित घरमा आगजनी गरेका थिए ।
उहाँले आज पत्रकार र मानवाधिकारबादीहरुको उपस्थितिमा उक्त कुरा बताउनु भएको हो । “दिउँसो पनि एउटा हुल आएको थियो, तर गाउँलेहरुले सम्झाई बुझाई पठाएका थिए,” उहाँले भन्नुभयो–“राति फेरि अर्को हुल आयो र कसैको कुरा नसुनी घरमा आगो लगायो ।”
उहाँले आफ्नो घरमा भएको तोडफोड, आगजनी र लुटपाट जेनजी आन्दोलनकारीबाट नभएको र व्यक्तिगत प्रतिशोध साध्नेहरुबाट भएको दावी गर्नु भएको छ ।
उक्त घटनामा रु. ३० लाख जति क्षति भएको र दराज फोेडेर आफ्नो र बुहारीको सुनका गहना लुटिएको समेत बताउनु भयो । रु. दुई लाख नगद समेत लुटिएको उहाँले जानकारी दिनुभयो ।
आइतबार उहाँको घरमा भएको क्षतिको स्थलगत निरीक्षण गर्न मानव अधिकारवादी टोली, राप्रपा कोशी प्रदेश अध्यक्ष एवम् दमक नगरपालिकाका नगरप्रमुख राम थापा, राप्रपाका झापा अध्यक्ष केशवराज ओझा, राप्रपा मेचीनगर अध्यक्ष चन्द्र निरौला, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन लगायत आउनु भएको थियो ।
राप्रपा सरकारमा छैन । तैपनि राप्रपाका सांसद् र नेताहरुलाई आन्दोलनको नाममा निशाना बनाइएको छ ।