२९ भदौ २०८२, आइतवार

आततायीहरुले छोरीलाई पनि जलाउन खोजे : मेचीनगर प्रमुख बुढाथोकी

२९ भदौ २०८२, आइतवार
Image

झापा, २९ भदौ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले जेनजी आन्दोलनको नाममा घर जलाउन आउनेहरुले आफ्नी १३ वर्षीय छोरीलाई आगोमा हालेर जलाउन खोजेको बताउनु भएको छ ।

उहाँले आज फेसबुकमा उक्त घटना बारे जानकारी दिनु भएको हो । भदौ २४ गते दिउँसो अराजक जत्थाले मेचीनगर–९ खुट्टिडाँगीस्थित उहाँको घर जलाएको थियो ।

“मेरो घर आगजनी र तोडफोड गरिइरहँदा मेरी छोरी चिच्याएर रुँदै पुगिन्,” उहाँले लेख्नु भएको छ– “यसो नगरिदिनु न भनेर याचना गरिछन् ।”

घर जलाइरहेका मध्ये एक जनाले छोरीलाई नै आगोमा हाल्न निर्देशन दिएपछि स्थानीयले छोरीलाई तानेर जोगाएको उहाँले बताउनु भएको छ ।

“आततायीहरुले सुन्ने कुरै भएन, खै कुन चै जल्लादले हो मेयरको छोरी हो यही आगोमा हाल भनेछ,” उहाँले घटनाको जानकारीदिदै लेख्नु भएको छ– “सहायक जल्लादले तान्न खोजेछ, बुहारीहरुले चिच्याएर तान्दै जोगाएछन् । मेरो बुकको ब्याग चै दिनु न भनेर रुँदै याचना गरिछन् । ला तेरो ब्याग भनेर झोला आगोमा फालेर घोक्र्याएर हुत्याएर निकालेछन् ।”

नगरप्रमुख बुढाथोकीले आफुले आफ्नो जीवनभरि दुःख गरेर कमाएको धन, नातागोतको ऋण र ससुरालीको सम्पत्तिबाट बनेको घर आन्दोलनको नाममा जलाएर क्षणभरमै खरानी बनाइएको भन्दै गहिरो पीडा व्यक्त गर्नु भएको छ ।

“देशभरिका सरकारी संरचनाहरु र मेरो निजी सम्पति पनि ध्वंश पारियो,” उहाँले लेख्नु भएको छ– “यो गतिविधि असली जेनजीको होइन । मैले घर कहिले बनाएको, कसरी बनाएको, ऋण धन कति छ, दाजु भाइ, श्रीमती, ससुरालीको धन सम्पत्ति, बैंक खाताको विवरण सबै र सार्वजनिक जिम्मेवारीमा रहेको विवरणसहित सार्वजनिक गर्नेछु । मेरो जीवन कथाको खाता पनि पल्टाइदिनेछु ।”

उहाँले आगो लगाउनेहरुलाई भ्रष्टाचार गरेको तथ्य सार्वजनिक गर्न चुनौति दिनु भएको छ ।