३१ भदौ २०८२, मङ्गलवार

कारागारबाट भागेका सात जना कैदी झापामा पक्राउ

३१ भदौ २०८२, मङ्गलवार
Image

झापा, ३१ भदौ । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी झापामा पक्राउ परेका छन् ।

भदौ २४ गते काठमाडौंको सुनधारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी निमित्त प्रविण श्रेष्ठले बताउनुभयो ।

नियन्त्रणमा लिइएकामध्ये सुनधारा कारागारबाट भागेका गौरादह नगरपालिका वडा नं. ५ की २८ वर्षीया रुकसार खातुन र वर्ष २८ कै एकसरा खातुन रहेका छन् । सरकारले भागेका कैदीलाई फर्किन सूचना जारी गरेपछि दुबै जना जिल्ला प्रहरी कार्यालय झापामा आफै सम्पर्कमा आएका थिए ।

कास्की कारागारवाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका वडा नं. ६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरवाटै पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । सोरेन घरमा आएर लुकिरहेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

नेपालबाट भागेर दक्षिणी सीमा हुँदै भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम भएका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरेर केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइदिएको छ । उनी भारतीय नागरिक भएको बताइएको छ । 

सुनसरीको झुम्का कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका वडा नं. ४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको छ । अरु दुई जना सुनधारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन् ।