१ असोज २०८२, बुधवार

जेनजी आन्दोलनमा दिनेशको मृत्युपछि परिवारको बिचल्ली

१ असोज २०८२, बुधवार
Image

झापा, १ असोज  अर्जुनधारा नगरपालिका वडा नं. ८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजबंशी जेनजी आन्दोलनमा शहीद भएपछि परिवारको बिचल्ली भएको छ ।

विर्तामोडमा भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी उहाँ प्रहरीको गोली लागेर घाइते हुनुभएको थियो । स्थानीय बीएन्डसी टिचिङ हस्पिटलमा उपचार हुँदाहुँदै भदौ २७ गते विहान ११ः४५ बजे उहाँको निधन भयो ।

पौरखी र मिलनसार स्वभावका उहाँ दुई वर्ष खाडी मुलुक कतारमा बसेर फर्किनु भएको थियो । स्वदेशमै केही उद्यम गर्ने सोचका साथ उहाँ परिवारको जीविका चलाउन मासुको सानो पसल चलाउनुहुन्थ्यो । उहाँकी पत्नी जान्ती राजबंशी आयआर्जनका लागि दैनिक ज्यालादारी काम गर्नुहुन्छ । 

दिनेशको पाँच वर्षीय एक छोरा रिदम र एक वर्षीया छोरी दिपीका अहिले पनि बुवा घर आउनुहोला भनेर बाटो कुरिरहेका छन् । उहाँकी ३० वर्षीया पत्नी जान्ती र ५५ वर्षीया आमा सपना राजबंशीको आँखाबाट आँशु ओभाएका छैनन् । वुवा मंगलु राजबंशीको तीन वर्ष अघि निधन भइसकेको छ ।

जेनजी आन्दोलनमा दिनेशले शहादत प्राप्त गरेपछि आश्रित परिवार आर्थिक रुपमा दयनीय अवस्थामा रहेको कारण विचल्लीमा परेको राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले बताउनुभयो ।

“विदेश गएर कमाएको पैसाले घर चल्दै आएको थियो,” उहाँले भन्नुभयो– “देशभित्र रोजगारी नपाएपछि फेरि रोमानिया जाने तयारीमा हुनुहुन्थ्यो उहाँ । साना नानीहरु र परिवारको पालनपोषणको जिम्मेवारी अब कसले लिने ?”

दिनेशको सानो कच्ची घरमा दाजु र भाउजुसहितको संयुक्त परिवार बसोबास गर्दै आएको छ । उहाँको निधनपछि छोराछोरी र आमाको पालनपोषण कसरी गर्ने भनेर चिन्ता थपिएको दिनेशकी पत्नी जान्ती राजबंशीले बताउनु भयो ।

“घरमा साना छोराछोरी छन्, तिनीहरुलाई हुर्काउने, पालनपोषण गर्ने र पढाउनका लागि कमाएर ल्याउने जिम्मेवारी मेरो काँधमा आएको छ,” उहाँ भन्नुहुन्छ– “वृद्ध सासुआमा हुनुहुन्छ । घरको कमाएर ल्याउने मान्छे नरहेपछि अब कसरी बाँच्नु ।”

मासु विक्रीको सानो पसल चलाउँदै आएका दिनेश देशभित्र रोजगारीको अवसर नदेखेर चाँडै रोमानिया जाने तयारी हुनुहुन्थ्यो । अब उहाँकै निधन भएकाले परिवारको गर्जो कसरी टार्ने भनेर दिनेशको परिवारमा चिन्ता थपिएको छ । एसएलसीसम्म अध्ययन गर्नु भएको दिनेश परिवारका आशा र भरोसा हुनुहुन्थ्यो ।

“मैले आर्थिक अवस्था कमजोर भएकै कारण धेरै पढ्न नसके पनि आधा गाँस नखाएरै छोराछोरीहरुलाई धेरै पढाउँछु भन्नुहुन्थ्यो,” दिनेशकी पत्नी जान्ती राजबंशी भन्नुहुन्छ– “उहाँको सपना अब अधुरै रह्यो ।”

भदौ २४ गते विर्तामोडमा भएको जेनजी आन्दोलनमा दिनेश घाइते भएको खबर सुन्नेवित्तिकै जान्ती बीएन्डसी हस्पिटल पुग्नु भएको थियो । जहाँ दिनेश जीवन र मृत्युको दोसाँधमा छटपटाइरहनु भएको थियो । घाइते भएको तीन दिनमै उहाँको निधन भयो ।

हाल दिनेशको काजकिरिया उहाँको दाजु गोवर्धन राजबंशीले गरिरहनु भएको छ । रोजगारीकै सिलसिलामा विदेशमा रहनु भएका उहाँ भाइको निधन भएको खबर सुनेर स्वदेश आउनु भएको हो ।

भाइले मुलुकमा परिवर्तनका लागि जीवन दिएको हुँदा उहाँको छोराछोरीको उच्च शिक्षासम्मको अध्ययनको जिम्मेवारी सरकारले लिनु पर्ने गोवर्धन राजबंशी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “परिवारको निर्वाह र सन्तानको शिक्षादीक्षाको जिम्मा राज्यले लिनु पर्छ ।”

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।