२७ असोज २०८२, सोमवार

काँकरभिट्टा आएर मेयर हर्क साम्पाङले भन्नुभयो– ‘म रुखो बोल्छु, झुठो बोल्दिन’

२७ असोज २०८२, सोमवार
Image

झापा, २७ असोज । राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले रुखो बोल्ने तर झुठो नबोल्ने भुइँमान्छेको रुपमा आफूलाई चिनिदिन आग्रह गर्नु भएको छ ।

आज पूर्वी सीमा काँकरभिट्टाबाट श्रम अभियान थालनी गर्दै उहाँले भन्नुभयो– ‘म नेता होइन । म पढाउन आएको होइन, देश बनाउने अभियानमा बोलाउन आएको हुँ । रुखो बोल्छु, झुठो बोल्दिन ।’

धरान उपमहानगरपालिकाका मेयर राईले देशमा जेनजी आन्दोलनपछि देशभक्तको एउटा र विदेशी कठपुतलीहरुको अर्को धार हुने जनाउँदै उहाँले आफू देशलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर मुलुकलाई चीन र भारतको दाजोमा समृद्धिमा पुर्याउने देशभक्तिको कित्तामा उभिएको बताउनुभयो ।

मुलुकलाई भ्रष्टाचार, अल्छीपन र पराधीनताबाट मुक्ति दिलाउन आफुले नयाँ पार्टी खोलेको र जेनजी आन्दोलनले सिर्जना गरेको अन्योलका बेला समेत सही नेतृत्व दिन तयार भएर काठमाडौं पुगेको बताउनुभयो । उहाँले अहिलेको सरकारलाई दूताबासबाट सञ्चालित कठपुतली भएको दोषारोपण गर्दै देशलाई विदेशीको क्रिडास्थल बन्नबाट जोगाउन आह्वान गर्नुभयो । 

उहाँले श्रम अभियान घोषणा कार्यक्रमलाई सम्बोधन गर्नु अघि मेची पुलमा पुगेर राष्ट्रिय झण्डा फहराउनु भएको थियो । उहाँलाई सुन्न ठूलो संख्यामा सर्वसाधारण र समर्थकको उपस्थिति रहेको थियो ।

सामाजिक अभियन्ता बालकृष्ण थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भ्रष्टाचार विरोधी अभियन्ताहरु प्रसन्न भट्टराई, अरुण गुरुङ, पुष्प पौडेल, सन्तोष आचार्य, मुना राई, जेनजी नेता रितेश थापा लगायतले मन्तब्य ब्यक्त गर्दै धरानका मेयर राईको अभियानको सफलताको कामना गर्नु भएको थियो ।

आदिबासाी जनजाति नेता केवल राईको सञ्चालन र प्रमेश थापाको स्वगत मन्तब्य रहेको कार्यक्रममा ७० वर्षीय जयन्त खनाललाई सम्मान गरिएको थियो ।

धरानका मेयर राईले नयाँ पार्टी स्थापना गरेपछि संगठन निर्माणका लागि देशब्यापी प्रचारका लागि श्रम अभियान सञ्चालन गर्नु भएको हो ।

उहाँले आउँदो मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा चुनाव चिह्न माटोको ढिस्को प्रस्ताव गर्नु भएको छ । उहाँले आफ्नो पार्टीलाई साथ दिन आह्वान समेत गर्नु भएको छ । 

कार्यक्रममा केसाङ क्रिएसनका भाइबहिनीहरुले नृत्य प्रस्तुत गरेका थिए भने मेचीनगरका जेनजीहरुले प्रमुख अतिथि राईलाई कालो चश्मा उपहार दिदै अभियान सफलताको कामना गरेका थिए ।