२८ असोज २०८२, मङ्गलवार

तिहार अगावै बढ्यो सयपत्री फूलको माग

२८ असोज २०८२, मङ्गलवार
Image

झापा, २७ असोज । फूलहरुको पर्व अर्थात नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अगावै सयपत्री फूलको माग बढ्न थालेको छ ।

तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजु भाइलाई लगाउन मात्र होइन जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिहरुलाई सयपत्री फूलको माला लगाउने प्रचलनले सयपत्री फूलको माग बढेको हो । 


विर्तामोड नगरपालिका–७ मा फूलखेती गरिरहेका किसान विवेक साहले तिहारका लागि दैनिक जसो अर्डर गर्नेको संख्या बढिरहेको बताउनुभयो । 

उहाँले भिनाजु दिपक साहसँग मिलेर दुई विगाहा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । सयपत्री फूलको ८० हजार विरुवा रोप्नु भएका साहले हाल दैनिक तीन सय माला विक्री गर्दै आएको बताउनुभयो । उहाँले फूल टिप्ने र माला बनाउने काममा स्थानीयलाई रोजगारी समेत प्रदान गर्नुभएको छ ।

“तिहारको लागि धमाधम अर्डर आइरहेको छ”, उहाँले भन्नुभयो, “गत हप्ता आएको अविरल बर्षाले करिब १० हजार माला हुने फूल नष्ट गर्यो । अर्डर अनुसार पुर्याउन सक्छु कि सक्दिन चिन्ता थपिएको छ ।” उहाँको ढकमक्क फुलेको फूल टिप्न नपाउँदै पानीले नष्ट गरिदिएको थियोे ।

उहाँले हाल दैनिक दुईदेखि तीन सय माला विक्रीको लागि विर्तामोड, दमक र विराटनगरका व्यापारीलाई पढाउँदै आएको बताउनुभयो । उहाँलेको फूलबारीमा टिकटक बनाउने र भिडियो खिच्ने स्थानीयवासीको समेत भीड लाग्ने गरेको छ । 

उहाँले प्रतिमाला रु. ५० का दरले विक्री गर्दै आएको बताउनुभयो । हालसम्मको मूल्य रु. ५० भए तापनि तिहारमा अवस्था हरेर मूल्य कायम गर्ने उहाँले जानकारी दिनुभयो । “हेर्दै रहर लाग्ने गरी फूल फुलेको छ”, उहाँले भन्नुभयो, “बाढीले क्षति गरे पनि लगानी उठाउन सक्छु कि भन्ने आँट छ ।”

उहाँका अनुसार एक पटक लगाएको सयपत्री फूल तीनपटक सम्म टिप्न मिल्दछ । उहाँले एक पटकको टिपाईमा २० हजार बढी माला हुने बताउनुभयो । उहाँले तिहारमा एक लाख माला हुने फूल उत्पादन गरेर विक्री गर्ने लक्ष्य राखे तापनि पानीको कारण पूरा नहुने बताउनुभयो । 

पहिलोपटक फूलखेती गर्नुभएको उहाँले भन्नुभयो, “फूल फलाउनु मात्र पर्दोरहेछ, ग्राहकको अभाव नहुने रहेछ । यसपटकबाट पाठ सिकेर आगामी दिनमा अझ व्यवस्थित गरेर थप खेती बढाउँर्छौ ।” 

यसैगरी विर्तामोड नगरपालिका–९ मा शुष्मा पौडेलले पनि सात कठ्ठा जमिनमा सयपत्री पूmलको खेती गर्नुभएको छ । उहाँले केही फूल दशैंको लक्ष्मी पूजाको दिन विक्री गरिसकेको बताउनुभयो । उहाँको बारीमा ढकमक्क फूलको सयपत्री पनि पानीको कारण क्षति पुगेको बताउनुभयो । 

“तिहारका लागि साँचेर राखेको करिब रु. दुई लाख ५० हजारको फूल पानीको कारण नष्ट भयो”, उहाँले भन्नुभयो, “धेरै अर्डर थियो अब पुर्याउन सक्ने स्थिति छैन ।” उहाँले पछिल्लो समय हरेक कार्यक्रममा खदाको सट्टा सयपत्री फूलको मालाको प्रयोग बढेसँगै फूलको माग बढेको बताउनुभयो ।

उहाँले विगत पाँच बर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएको छ । जिल्लाको विर्तामोड, बाहुनडाँगी, गौरादहलगायतका स्थानमा सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको छ ।