१० कार्तिक २०८२, आइतवार

छठ पूजाका लागि झापाका नदी किनारहरु सजाइए

१० कार्तिक २०८२, आइतवार
Image

झापा, ९ कात्तिक । छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौं नदीका घाट सजाउने कार्य भएको छ ।

छठका ब्रतालुहरुले सजाइएका नदीका घाटमा सोमवार साँझ अस्ताउँदो सूर्यलाई र मंगलवार उदाउँदो सूर्यलाई अघ्र्य दिने छठ सेवा समिति विर्तामोडकी अध्यक्ष संगीता रौनियारले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडका ब्रतालुहरुले कनकाईको बिरिङ नदी किनारमा सजाइएका घाटमा पूजा गर्ने तयारी भएको छ । 

“विर्तामोड, चारपाने, दुर्गापुर र लक्ष्मीपुरका छठ पूजा गर्नेहरुका लागि हामीले कनकाईको बिरिङमा सम्पूर्ण तयारी पूरा गरेका छौं,” अध्यक्ष रौनियार भन्नुहुन्छ–“यो सांस्कृतिक पर्वलाई भब्य रुपमा सम्पन्न गर्न सबै पक्षबाट सहयोग हुने अपेक्षा राखेका छौं ।”

कनकाईको बिरिङ घाटमा १७५ भन्दा बढी मण्डप निर्माण गरिएका छन् । सोही अवसरमा हजारौंको भीड लाग्ने र विशेष कार्यक्रम समेत आयोजना हुने भएकाले छठ सेवा समितिले स्वयम्सेवक, अर्थ लगायतका विभिन्न उपसमिति गठन गरेको उहाँले जानकारी दिनुभयो ।  

यसैगरी, भद्रपुर र काँकडभिट्टास्थित मेची नदी किनारमा छठ पूजाका लागि विशेष तयारी भएको छ । भद्रपुर–५ स्थित मेची नदीको दुबै किनारमा हुने छठ पूजामा बिगतमा जिल्लाकै सबैभन्दा धेरै भक्तजन र दर्शनार्थीको भीड लाग्ने गरेको थियो ।

बिर्तामोडको अदुवा खोला, कन्काई नदी, धुलाबारीको निन्दा, अर्जुनधाराको टाङटिङ लगायतका दर्जनौं खोला तथा नदीमा छठ पूजाको तयारी गरिएको पाइएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने झापा गाउँपालिकामा यही उपलक्ष्यमा धार्मिक मेलाको आयोजना गरिएको छ । झापा गाउँपालिकाको वडा नं. २ स्थित सानोमाई नदीमा कात्तिक ९, १० र ११ गते धार्मिक मेला लाग्ने झापाली युवा क्लवका अध्यक्ष समीलाल राजबंशीले बताउनुभयो ।

धार्मिक मेला र पूजालाई व्यवस्थित बनाउन उहाँको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको छ । सानो माइ नदी किनारमा छठ पर्वको अवसर पारेर बिगत केही वर्षदेखि धार्मिक मेला लाग्न थालेको उहाँले बताउनुभयो ।

विशेष गरी तराईवासीले मनाउने छठ पर्व हिजोआज अन्य समुदायले समेत उल्लासपूर्वक मनाउने गरेको पाइएको छ ।

ठेकुवा लगायत पिठोबाट बनाइएका प्रसादहरुसँगै केराको घरी, माटोको हात्ती, कलशसहित पूजा सामग्री बोकेर ब्रतालुहरुले सोमवार साँझ अस्ताउँदो सूर्यको पूजा गर्ने र मंगलवार विहान उदाउँदो सूर्यको पूजा गर्ने झापाली युवा क्लवका अध्यक्ष राजबंशीले बताउनुभयो ।

फोटो : विष्णुकूल श्रेष्ठ