झापा, ११ कात्तिक । नेकपा माओबादी केन्द्र मेचीनगरले स्थायी पदपूर्तिको व्यवस्था नहुञ्जेलसम्मका लागि निष्काशनमा परेका कर्मचारीहरुलाई नै पुनर्वहाली गर्न माग गरेको छ ।
पार्टीका नगर अध्यक्ष राजन चिमरिया र सचिव कृष्णकौशल सिटौलाले आज प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्दै नगरपालिकासमक्ष उक्त माग गर्नु भएको हो ।
माओबादी केन्द्रले लोक सेवा आयोगमार्फत प्रतिष्पर्धाबाट कर्मचारी नियुक्त गर्न र हाल निष्काशनमा परेका सबै कर्मचारीलाई उक्त प्रतिष्पर्धामा भाग लिन पाउने कानूनी व्यवस्था सुनिश्चित गर्न समेत माग गरेको छ ।
दशौं वर्षदेखि अविछिन्न रुपमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुलाई हठात र अपमानित ढंगबाट रित्तोहात सेवाबाट निष्काशित गर्ने नगरपालिकाको कार्य न्यायसंगत नभएको जनाउँदै विज्ञप्तिमा कर्मचारी नियुक्ति र व्यवस्थापनमा नगरपालिका चुकेको उल्लेख गरिएको छ ।
नगरपालिकाले असोज २९ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार १४० जना अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई पदबाट हटाएको विज्ञप्तिमा उल्लेख छ । संघीय सरकारको निर्देशनात्मक परिपत्र बमोजिम हटाइएको नगरपालिकाले जनाउँदै आएको छ ।
वि.सं. २०७४ असोज २९ गते जारी भएको स्थानीय सरकार सञ्चालन ऐनले नै नगरपालिकाहरुलाई आफ्नो कार्यबोझ र राजश्वको अवस्थाको विचार गरेर संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठन संरचना तयार गर्न अधिकार दिएको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ– ‘यतिको लामो अवधि व्यतित हुँदासम्म मेचीनगरले आफुलाई चाहिने कर्मचारीहरुको विषयमा यकिन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठन संरचना तयार गरेको छ कि छैन ? छ भने किन आवश्यक कर्मचारी लोकसेवाबाट पूर्ति गर्न सकेन ? कानून बमोजिम पनि स्थानीय तहमा अविछिन्न रुपमा करार र अस्थायी रुपमा कार्यरत कर्मचारीले पहिलोपटक भएको स्थानीय तहको विज्ञापनमा प्रतिष्पर्धामा सामेल हुन उमेर हद नलाग्ने व्यवस्था गरेकोमा मेचीनगरले लोकसेवा आयोगमा पद माग गरी अविछिन्न रुपमा कार्यरत कर्मचारीहरुलाई किन प्रतिष्पर्धामा सामेल हुन पाउने कानूनी व्यवस्थालाई कार्यान्वयनमा मदत गरेन ?’
माओबादी केन्द्रले अहिलेको परिस्थिति सिर्जना हुनुको वास्तविक कारण के हो भन्ने बारेमा वास्तविक कारणसहित सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ ।