१३ कार्तिक २०८२, बुधवार

अलैचीको प्रति मन मूल्य रु. एक लाख पुग्यो

१३ कार्तिक २०८२, बुधवार
Image

झापा, १२ भदौ । अलैचीको भाउ यसवर्षको सबैभन्दा उच्चविन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रति मन (४० केजी) अलैची अधिकतम् रु. एक लाखमा किसानबाट खरिद भइरहेको नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष दिपक नेपालले बताउनुभयो ।

व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैची खरिद गर्दै आएका छन् । जेजे अलैचीको मूल्य आज रु. एक लाख प्रति मन कायम भएको हो भने चालू अलैची रु. ९७ हजार प्रति मनका दरले खरिदविक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसवर्ष अलैचीको भाउ मंगलवार सबैभन्दा उच्चविन्दुमा पुगेको थियो । उहाँका अनुसार मंगलबार जेजे अलैची प्रति मन रु. एक लाख दुई हजारमा कारोवार भएको थियो । हिजोको तुलनामा आज प्रति मन रु. दुई हजारका दरले मूल्यमा गिरावट आएको छ ।

“अलैचीको भाउ निरन्तर उकालो लागिरहेको थियो, आज मात्र दुई हजार रुपैयाँका दरले ओरालो लागेको हो,” उहाँले भन्नुभयो– “अहिले किसानहरुले औलो क्षेत्रको अलैची बजारमा ल्याइसकेका छन् भने लेकाली क्षेत्रको अलैची भर्खर भट्टी लगाउन सुरु भएको छ ।” 

अलैचीको बजार मूल्य उच्च हुने भएकाले यसलाई ‘खोल्साको सुन’ भनेर चिनिन्छ । पूर्वी पहाडका किसानहरु अहिले बढेको भाउले प्रत्यक्ष लाभान्वित भएका छन् ।

नेपालका ४२ जिल्लामा अलैची खेती हुने गरे तापनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ ।

नेपालमा उत्पादित अलैचीको ९० प्रतिशत मात्रा निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैची त्यहाँबाट ब्रान्डिङ भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्व बजारमा नेपाली अलैचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन ।

कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैची खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा काँकडभिट्टा नाका भएर रु. सात अर्ब ६७ करोडको अलैची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । 

चालू आर्थिक वर्ष २०८२÷८३ को प्रथम त्रैमासिक अवधिमा अलैचीको निर्यात ३३ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

बिगत साउन, भदौ र असोज महिनामा काँकडभिट्टा नाका भएर रु. एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार मूल्य बराबरको एक हजार ७२ मेट्रिक टन अलैची भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो ।