मधुमल्ला, २५ कात्तिक । नेकपा (एमाले)का केन्द्रीय सदस्य युवराज बाँस्कोटाले सिंहदरवार जलिरहँदा काठमाडौंका मेयर बालेन साहको महानगरमा केही नहुनु रहस्यमय रहेको बताउनु भएको छ ।
नेकपा एमाले मिक्लाजुङ गाउँपालिका कमिटीले हठात् विघटित संसद्को पुनःस्थापनाका लागि जनदवाव कार्यक्रम अन्तर्गत आजा आयोजना गरेको पालिकास्तरीय जनसभामा प्रमुख अतिथिको रुपमा बोल्दै नेता बाँस्कोटाले उक्त कुरा बताउनु भएको हो ।
“जेनजीहरु राष्ट्रिय झण्डा ओडेर सिंहदरबार र गाउँगाउँमा पालिका कार्यालय जलाउन जानै सक्दैनन्,” उहाँले भन्नुभयो– “सिंहदरबार र अदालत जलिरहँदा मेयर बालेन साह नेतृत्वको महानगरमा हिंसा र तोडफोड नहुनु रहस्यमय हो ।”
एमाले कार्यालय जलाइए पनि राजनीतिक आस्था नजलेको जनाउँदै उहाँले निर्भयको वातावरण हुने हो भने जनमत प्राप्तिको बाटोमा जान एमाले तयार रहेको बताउनुभयो ।
एमाले नेता बास्कोटाले वर्तमान सरकार पूर्णतः असंवैधानिक र अलोकतान्त्रिक ढंगले गठन भएको सन्दर्भ उठाउँदै विघटित प्रतिनिधिसभा पुनस्र्थापना नै एकमात्र विकल्प रहेको बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनलाई हाइज्याक गरी अराजक तत्वहरूले सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरेको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिको चर्कोस्वरमा निन्दा गर्दै वर्तमान सरकारले यदि आफूलाई कुनै विदेशी एजेन्टको नभएर नेपाली जनताको सरकार सावित गर्छ भने यस्ता दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही हुनुपर्ने माग गर्नुभयो ।
उहाँले एमाले पंक्तिभित्र कसैले भ्रष्टाचार गरेको भए कारबाही गर्न वत्र्तमान सरकारलाई चुनौति दिनुभयो ।
ऐतिहासिक मधुमल्ला बजारमा आयोजित जनसभा गर्नु अघि विशाल जुलुसले बजार परिक्रम गरेको थियो । जुलुसमा असंवैधानिक अन्तरिम सरकारको खारेजी र विघटित संसद्को पुनःस्थापनाका लागि सहभागीहरुले नारा लगाएका थिए ।
सर्वसाधारण समेतको व्यापक जनसहभागितामा भएको जनसभाको मुख्य वक्ता नेकपा (एमाले)का केन्द्रीय सदस्य युवराज बाँस्कोटा हुनुहुन्थ्यो ।
कार्यक्रममा नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्य बुद्धिमान लिम्बू, कोशी प्रदेश कमिटी सदस्य रामकृष्ण राई र मिक्लाजुङ गाउँपालिका कमिटी अध्यक्ष नवीन कार्कीले सम्बोधन गर्नु भएको थियो ।
गाउँपालिकाका एमाले अध्यक्ष कार्कीले देशमा भइरहेको प्रतिगमन र असंवैधानिक कदमविरुद्ध जनचेतना जगाउने उद्देश्यका साथ एमाले देशव्यापी विरोध अभियानमा लागेको बताउनुभयो ।
