२७ कार्तिक २०८२, बुधवार

थोप्लेविरान सामुदायिक वनको साधारणसभा सम्पन्न

२७ कार्तिक २०८२, बुधवार
Image

मेचीनगर, २६ कात्तिक । थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहको बुधबार ३० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । 

मेचीनगर नगरपालिका–९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा  सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत डिल्ली खरेल, उज्यालो भविष्य जैविक कृषक समूहका अध्यक्ष इन्द्र पाठक, मागुरमाडी विट नंं न २ का अध्यक्ष विर्ख तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

वनका अध्यक्ष कृष्ण कोइरालाले कार्यक्रममा बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । विभिन्न जात जातिका ५५० घरधुरीका तीन हजार परिवार उपभोक्ता रहेको सामुदायिक वन एक सय ९० दशमलव ३०७ हेक्टरमा फैलिएको छ । 

अध्यक्ष कोइरालाले प्रस्तुत गरेको प्रतिवेदनमा वनको पूर्व टिमाई खोलाको नदी उकास क्षेत्रमा पर्यापर्यटन विकासका साथै वन्यजन्तुका लागि पिउने पानी तथा भूमिगत जलाधार संरक्षण गर्न पोखरी निर्माण गरिने उल्लेख छ । 

वनले गरीबी न्यूनीकरण अन्तगर्त लक्षित वर्गका लागि घर निर्माण, छात्रवृत्ति, सीपमूलक तालिम, खानेपानी, विद्युत जडानलगायतका कार्यक्रम समेत गर्दै आएको उहाँले बताउनुभयो । 

संस्थाकी सचिव जानुका ओलीले आर्थिक बर्ष २०८१÷२०८२ मा गोलिया विक्री क वर्गबाट रु. चार लाख ८५ हजार ५८, गोलिया विक्री ख वर्गबाट रु. एक लाख ५४ हजार २४१, पर्यापयटन प्रवेश शुल्कबाट तीन हजार ६०० आम्दानी गरेको बताउनुभयो ।

उहाँले राष्ट्रिय वन विकास परियोजनाको आर्थिक सहयोगमा छ हेक्टर क्षेत्रफलमा खनजोत गरी बाँस तथा जैविक घेराबारासहित कर्मा जातका विरुवा उत्पादन गरी रोपण समेत गरिएको जानकारी दिनुभयो ।