२८ कार्तिक २०८२, बिहिवार

त्रिवेणी च्यालेञ्ज कप–२०८२’ मङ्सिर १० गतेदेखि सुरु हुँदै

२८ कार्तिक २०८२, बिहिवार
Image

धुलाबारी, २७ कात्तिक । मेचीनगर–१५, ज्यामिरगढीस्थित त्रिवेणी युवा क्लबले आयोजना गर्न लागेको प्रतिष्ठित ‘त्रिवेणी च्यालेञ्ज कप–२०८२’ फुटबल प्रतियोगिता आगामी मङ्सिर १० गतेदेखि सुरु हुने भएको छ। क्लबले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता पुनः सञ्चालनको मिति सार्वजनिक गरेको हो ।

यसअघि प्रतियोगिता असोज ३ गतेदेखि सुरु गर्ने तयारी थियो । तर देशभर फैलिएको ‘जेन–जेड आन्दोलन’ र त्यसले सिर्जना गरेको असहज राजनीतिक–सामाजिक परिस्थितिका कारण प्रतियोगिता स्थगित गर्नुपरेको क्लबले जनाएको छ । हाल देशको अवस्था केही हदसम्म सामान्य बनेको र खेलकुद वातावरण पनि सहज भएकाले पुनः मिति तय गरिएको क्लबका अध्यक्ष ८८विदुरसिंह खवास (अजित)८८ले बताए ।

उनका अनुसार प्रतियोगिता ज्यामिरगढी माध्यमिक विद्यालयको खेलमैदानमा भव्य रूपमा आयोजना गरिनेछ । “यो हाम्रो पहिलो औपचारिक फुटबल प्रतियोगिता हो,” उनले भने, “यसबाट स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउने, फुटबल प्रतिभा निखार्ने र आपसी सद्भाव तथा एकताको सन्देश फैलाउने हाम्रो उद्देश्य हो ।”

त्रिवेणी युवा क्लब, ज्यामिरगढी, झापाको पुरानो र ऐतिहासिक क्लबका रूपमा चिनिन्छ । खेलकुद र सामाजिक गतिविधिमा सक्रिय यो क्लब केही समय निष्क्रिय भए पनि अहिले पुनः सशक्त रूपमा अघि बढ्न लागेको क्लबका सचिव मनिष विश्वकर्माले बताए । उनका अनुसार, “यो प्रतियोगिता क्लब पुनः परिचित गराउने एउटा महत्वपूर्ण मोड हुनेछ ।”

क्लबले प्रतियोगितामार्फत युवामा नेतृत्व, अनुशासन र खेल भावना विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । साथै स्थानीयवासी, संघ–संस्था, विद्यालय, उद्योग–व्यवसायी र शुभेच्छुक सबैलाई प्रतियोगितामा सक्दो सहयोग र सहभागिताको लागि अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “त्रिवेणी युवा क्लब, ज्यामिरगढीले आफ्नो गौरवशाली इतिहास पुनः स्थापित गर्दै समुदायको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछ ।”