झापा, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता नियन्त्रणका लागि टोल टोलमा सुरक्षा समिति बनाउन निर्देशन दिनु भएको छ ।
झापाका एमालेका अगुवा कार्यकर्ताहरुलाई विहीवार साँझ भर्चुअल सम्बोधन गर्दै उहाँले उक्त निर्देशन दिनु भएको हो ।
त्यस्ता सुरक्षा समितिले आपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरुलाई प्रहरीलाई बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिलाउन काम गर्ने बताउनुभयो ।
उहाँले कात्तिक २९ गते विर्तामोडमा आयोजना हुन लागेको जागरण सभामा सहभागी बन्न पार्टीका कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
उहाँले असंबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको हुँदा त्यसको पुनस्र्थापनाका लागि जनदवाव सिर्जना गर्नुपर्ने बताउनु भएको हो ।
झापामा पार्टी पंक्तिबाट भइरहेको कामहरु बारेमा आफू जानकार रहेको उल्लेख गर्दै उहाँले अराजकता सिर्जना गर्ने र संविधानलाई निष्तेज पार्न खोज्ने कुनै पनि गतिविधिविरुद्ध लड्न नेकपा एमाले सक्षम रहेको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभाको पुनस्र्थापना र असंबैधानिक अन्तरिम सरकारको खारेजीपछि मात्र मुलुकमा लोकतान्त्रिक पद्धति सही बाटोमा आउने धारणा राख्नुभयो ।
बैठकमा नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले जेनजी प्रदर्शनको क्रममा भदौ २३ र २४ गते झापामा भएको विध्वंश, आगजनी र तोडफोडपछिको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । पार्टीका जिल्ला सचिव तुलसी कार्कीले भर्चुअल बैठकको सहजिकरण गर्नु भएको थियो ।