झापा, २८ कात्तिक । अर्जुनधारा जलेश्वरधाममा ४३ औं वार्षिक अनुष्ठानको रुपमा बिहीबार वायु पुराण सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।
धार्मिक गुरु १००८ केशवानन्द स्वामीले पानसमा दीप बालेर महायज्ञको उद्घाटन गर्नु भएको थियो ।
प्रमुख अतिथि केशवानन्द स्वामीले नेपाल तपोभूमि भएको उल्लेख गर्दै नयाँ पुस्तालाई संस्कार र संस्कृति सिकाउनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले घर, सडक आदि बनाउनु मात्र विकास नभएको धारणा राख्दै आफ्नो धर्म, संस्कृति र संस्कार जोगाउन सकिएन भने समार र देश संकटमा पर्ने बताउनुभयो ।
बालाचतुर्दशीका दिन समापन हुने महायज्ञमा धामका व्यासाचार्य पण्डित कुबेर सुवेदी प्रमुख कथा वाचक र पण्डित हेमन्त भण्डारी उपवाचक रहनु हुने भएको छ ।
उद्घाटन अवसरमा पार्वती मन्दिर निर्माता झुमा बस्नेतले यज्ञ उद्घाटन गर्नु भएको थियो भने दाता छविलाल शिवाकोटीले धान्याञ्चल पर्वतको उद्घाटन गर्नु भएको थियो ।
धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गर्नु भएको थियो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन तामाङले धार्मिक स्वभाव हावी भएको समाज सभ्य हुने बताउनुभयो ।
कार्यक्रममा गुरुकुलका शिक्षक चिरञ्जीवी ढुंगानाले स्वस्तिवाचन र विद्यार्थी खेमराज अधिकारीले संस्कृत भाषाबाट स्वागत मन्तव्य राख्नु भएको थियो भने उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडाले स्वागत मन्तव्यसहित धामको ऐतिहासिक पृष्ठभूमि बारे जानकारी गराउनु भएको थियो ।
सोही अवसरमा किराँत लिम्बू समुदायका कलाकारहरुले च्याब्रुङ नृत्य र पतञ्जलि योग समिति अर्जुनधाराका कलाकारहरुले मनोरञ्जनात्मक शिव ताण्डव नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, शंकराचार्य पीठ साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।
समारोह सुरु हुनु अघि झाँकीसहित कलश यात्राले नगर परिक्रमा गरेको थियो ।