झापा, २ मङ्सिर । मोरङबाट भारततिर फर्किदै गरेको हात्तीको ठूलो बथान झापामा आइपुगेपछि छिन्नभिन्न भएर जंगलतिर भौतारिरहेको डिभिजन बन कार्यालय झापाले जनाएको छ ।
कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतवार झापा हुँदै भारत फर्किने क्रममा रहेको बथानमा २५ देखि ३० वटा हात्ती रहेका छन् । आइतवार दिउँसो नै ती हात्तीहरु बालबच्चासहित झापाको रतुवामाई वृक्षारोपण जंगल क्षेत्रमा आइपुगेका थिए ।
“तीमध्ये १५ वटा हात्तीको झुण्ड आज मोरङतिरै फर्किएको खबर प्राप्त भएको छ,” डिभिजन बन कार्यालय झापाका प्रमुख श्रेष्ठले भन्नुभयो– “हामी निरन्तर निगरानीमा छौं । रतुवामाई आइपुगेको हात्तीको बथान छिन्नभिन्न भएर कोही मोरङतिरै फर्किए र बाँकी झापातिरै अलमलिएका छन् ।”
आइतवार पूर्वपश्चिम राजमार्गको उत्तरी क्षेत्र सुन्दरहरैँचाबाट ती हात्तीको बथानले झापाको बाहुनडाँगी गौडा हुँदै भारतको पश्चिम बंगालतिर फर्किने बाटो पछ्याएका थिए । दिनभरि स्थानीय जंगलमा विश्राम गर्ने ती हात्तीहरु रात परेपछि मात्र हिँड्थे ।
बथानबाट अलग्गिएर आधा जति हात्ती मोरङतिरै फर्किए पछि बाँकी हात्ती झापाको शिवसताक्षीस्थित रतुवामाई र दमकको हम्सेदुम्से सामुदायिक बनमा रहेको श्रेष्ठको भनाई छ ।
दुई बर्ष अघि ५० देखि ६० को संख्यामा हात्तीको ठूलो बथान बाहुनडाँगीको प्रसाद गौडा हुँदै नेपाल प्रवेश गरेको थियो । तीमध्ये अधिकतम् ३० वटा हात्ती डेढ महिना नेपाल विचरणपश्चात भारततर्फ फर्किएका थिए । अरु हात्ती भने मोरङ र सुनसरीको वन क्षेत्रमा बसेका थिए ।
हात्तीको बथान मोरङबाट झापातिर आइरहेको खबर प्राप्त भएपछि डिभिजन बन कार्यालय झापा र स्थानीय पालिकाहरुले जनधनको क्षति नहोस् भनेर व्यापक सुरक्षा सतर्कता अपनाएका छन् । बन कार्यालयले गस्ती टोली परिचालन गरी सर्वसाधारणलाई सावधानी अपनाउन माइकिङ समेत गरेको थियो ।
भारतको आसामदेखि नेपालको कोशी टप्पु क्षेत्रसम्म जंगली हात्तीहरु ओहोरदोहोर गर्दै आएका छन् । भारतबाट भित्रिने गर्भिणी हात्तीहरु नेपालमा सुरक्षित रुपमा बालबच्चा हुर्काएर मात्र भारत फर्किने गरेका छन् । अहिले भारत फर्किन लागेको बथानमा हात्तीका थुप्रै छावाहरु रहेको बताइएको छ । भारत नफर्किएसम्म सावधानी अपनाउन बन कार्यालयका प्रमुख श्रेष्ठको आग्रह छ ।