काँकरभिट्टा, १८ मंसिर । महिला जनचेतना केन्द्रले किशोरीहरुलाई यौन, प्रजनन् स्वास्थ्य अधिकार, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी तीन दिवसीय तालिम आजबाट सुरु गरेको छ ।
तालिमको उद्घाटन मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले गर्नुभएको थियो । कार्यक्रममा मेचीनगर नगरपालिका महिला, बालबालिका तथा सामाजकल्याण शाखाकी प्रमुख जयन्ती खरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महिलामाथि हुने सबै प्रकारका हिंसा, बालविवाहलगायतका समाजिक क्षेत्रमा काम गर्दै आइरहेको मेचीनगर–६ काँकरभिट्टा स्थित केन्द्रले संस्थाको आफ्नै भवनको हलमा तालिम सञ्चालन गरिरहेको छ ।
सहभागी किशोरीहरुलाई विहीबार यौन तथा प्रजनन् स्वास्थ्य अधिकार विज्ञ प्रकृति बाँस्तोलाले यौनता र यौन व्यवहार, यौन अभिमुखिकरण, व्यापक यौन शिक्षा, हिंसा, अपराध र कानुन लगायतका विष्षयमा प्रशिक्षण प्रदान गर्नुभएको छ ।
शुक्रबार यौन तथा प्रजनन् स्वास्थ्य अधिकार विज्ञ जोस्ना बुढाथोकीले किशोर अवस्थाका समस्या, राम्रो छुवाई, नराम्रो छुवाई, यौन रोग, परिवार योजना, सुरक्षित गर्भपतन, महिनावारी, बालविवाह लगायतका विषयमा प्रशिक्षण दिनुहुनेछ ।
शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा महिला सेलकी प्रमुख प्रहरी निरीक्षक मिलनकुमारी राईले साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण दिने कार्यक्रम रहेको संस्थाकी सचिव भुवन सुब्बाले जानकारी दिनुभयो ।
तालिममा बाह्दशीबाट ३ जना, कचनकवलबाट ३ जना र मेचीनगरबाट ६ जना किशोरी गरी १२ जना सहभागी भएका छन् ।
महिला जनचेतना केन्द्रकी सचिव भूवन सुब्बाको अध्यक्षतामा भएको उद्घाटन सत्रको समापनको स्वागत सहभागी विद्यार्थी फुलबारी किशोरी समूहकी सदस्य पुनम बेगमले र सञ्चालन संस्थाकी सदस्य रेजिना श्रेष्ठले गरेका थिए । विगतदेखि बर्तमान अवस्थासम्म संस्थाले गरेका गतिविधिसहित हिंसा न्यूनीकरणका लागि गरिएका पहलका बारेमा संस्थापक अध्यक्ष राधा प्रधानले जानकारी गराउनुभएको थियो ।
वि.संं २०६० स्थापना भएको संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गरिरहेको छ । अध्यक्ष प्रधानले महिलालाई गरिने जुनसुकै प्रकारका हिंसा र बाल विवाह रोक्न विगत छ वर्षदेखि विशेष गरेर बाह्दशी, कचनकवल र मेचीनगरका गाउँ, टोल, समूदाय, विद्यालय लगायतका क्षेत्रमा पुगेर सचेतना दिने काम गरिरहेको जानकारी दिनुभयो ।
संस्थाले विद्यार्थीको भविष्य कसरी उज्जवल बनाउने भनेर जिल्लाका चार वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेको सस्थाकी कर्मचारी मनिला उप्रेतीले जानकारी दिनुभयो ।