२० मंसिर २०८२, शुक्रवार

झापामा नरिवलको व्यावसायिक खेती सुरु

१९ मंसिर २०८२, बिहिवार
Image

झापा, १८ मङ्सिर । समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गर्नुभएको हो । 

पहिलो चरणमा यसवर्ष एक बिगाहा क्षेत्रफल जग्गामा नरिवलको तीन सय वटा विरुवा लगाएको उहाँले बताउनुभयो । विरुवा रोपेको कम्तीमा नौ वर्षपछि नरिवलले फल दिन थाल्नेछ ।

जंगली हात्तीको उपद्रो बढेसँगै बैकल्पिक खेतीको रुपमा धान खेत मासेर चिया, तेजपत्ता, मरिच, सुपारी लगायतका विभिन्न खेती गर्दै आउनु भएको उहाँले पहिलोपल्ट नरिवलको व्यावसायिक खेती गर्नु भएको हो । 

“बारीमा पहिल्यैदेखि छ वटा नरिवलका रुख हुर्किएर फल दिइरहेका थिए,” उहाँ भन्नुहुन्छ– “एउटै बोटबाट वर्षेनी रु. १७ हजारभन्दा बढी आम्दानी दिइरहेको छ । अब व्यावसायिक उत्पादनका लागि धेरै मात्रामा विरुवा रोपेको छु ।” 

समुन्द्र सतहदेखि एक हजार मिटरसम्मको जमिनमा नरिवल खेती फस्टाउने कृषि विज्ञहरुको भनाई छ । झापामा सयौं वर्षदेखि आफ्नो बारीमा थोरै मात्रामा नरिवल हुर्काउने चलन छ । तर, व्यावसायिक उत्पादनका दृष्टिले धेरै जग्गामा नरिवल खेती गर्ने उहाँ कोशी प्रदेशकै पहिलो कृषक हुनुहुन्छ ।

आगामी बर्ष सात सय नरिवलको विरुवा लगाउने तयारी गरेको उहाँले बताउनुभयो । “नरिवलको फल नपाक्दै काँचैमा पनि विक्री हुन्छ”, उहाँले भन्नुभयो, “बजारको कुनै समस्या छैन । उत्पादन गर्न सके बोटबाटै विक्री हुन्छ ।”

नेपालमा हाल काँचो नरिवलको समेत उच्च माग छ । नरिवलको रस स्वास्थ्यवर्धक भएकाले भारतबाट आयात गरेर नेपाली बजारमा यसको विक्री हुँदै आएको छ । सुकेको नरिवलको फलको मूल्य झन् उच्च छ ।

काँचो नरिवल बोटबाटै रु. ९० देखि रु. एक सयसम्ममा विक्री हुने गरेको कृषकहरु बताउँछन् । त्यही नरिवल बजारमा व्यापारीहरुले रु. २५० सम्ममा विक्री गर्दै आएका छन् । 

सुपारी जोन झापाका पूर्व अध्यक्ष नीलकण्ठ तिवारीले बहुउपयोगी गुण भएको नरिवल खेतीतर्फ किसान आकर्षित हुनु सुखद् खबर भएको बताउनुभयो । उहाँले पानी नजम्ने प्रशस्त प्राङ्गरिक पदार्थ भएको खुकुलो माटोमा नरिवल राम्रोसँग फस्टाउने बताउनुभयो । 

विगत तीन बर्षदेखि धुलाबारी चोकमा नविरल पानी बेच्दै आउनु भएका हरिदेव सरदारले स्थानीय उत्पादन नभएका कारण भारतबाटै काँचो नरिवल ल्याउने गरेको बताउनुभयो । उहाँले दैनिक सयदेखि डेढसय वटासम्म नरिवलको रस बेच्दै आउनुभएको छ ।