मेचीनगर, १९ मंसिर । मेचीनगर नगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा धुलाबारी माविका छात्र सुदीप आचार्य प्रथम भएका छन् ।
१६ दिने लैङ्गिक हिंसा अभियान अन्तरगत नगरपालिकाको महिला तथा बालबालिका शाखाले शुक्रबार नगरसभा हलमा गरेको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा धुलाबारी माविका आचार्य प्रथम भएका हुन् ।
प्रतियोगितामा दोस्रो हुने सहिद दशरथ चन्द मावि चारआलीकी स्मृति कोइराला, तेस्रो हुने आदर्श मावि ईटाभट्टाकी कुसुम तिम्सिना भएकी थिइन् । यस्तै सरस्वती बाल कल्याण माविकी सिर्जना भूर्तेल सान्तवना भएकी थिइन् ।
उनीहरुलाई क्रमश ः १० हजार, ७ हजार, ५ हजार र तीन हजार ५ सय रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।
वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, शिक्षकहरु हेम खड्का र विनोद खनाल रहेका थिए ।
प्रतियोगीहरुलाई ‘प्रविधिको प्रयोगबाट हुने लैङ्गिक हिंसा न्यूनिकरणका लागि युवा पुस्ताको भूमिका’ विषय दिइएको थियो ।
नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले गरेकी थिइन् ।