२१ पुष २०८२, सोमवार

झापा इनर्जीद्वारा रु. १५ करोडको सौर्य विद्युत उत्पादन

२० पुष २०८२, आइतवार
Image

झापा, २० पुस । कोशी प्रदेशको सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले दुई वर्षको अवधिमा रु. १५ करोड चार लाख ६५ हजार ५१२ मूल्यको सौर्य विद्युत नेपाल प्राधिकरणलाई विक्री गरेको छ ।

इनर्जीले वि.सं. २०८० माघ १० गतेदेखि विद्युतको व्यावसायिक उत्पादन गर्दै आएको कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बुले बताउनुभयो । कम्पनीको सौर्य परियोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई विक्री गर्दै आएको छ ।

उत्पादन सुरु भएको आर्थिक वर्ष २०८०/८१ मा रु. पाँच करोड २८ लाख ८४ हजार ७७७ र आव २०८१/८२ मा रु. नौ करोड १० लाख ५९ हजार ४७५ मूल्य बराबरको सौर्य विद्युत प्राधिकरणलाई विक्री गरिएको उहाँले जानकारी दिनुभयो ।

चालू आव २०८२/८३ को पाँच महिनामा इनर्जीले रु. चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत नेपाल विद्युत प्राधिकरणलाई विक्री गरिसकेको छ । साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिना अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत उत्पादन गरेको जनाएको छ । 

शिवसताक्षी नगरपालिका वडा नं. ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत परियोजना सञ्चालनमा छ । इनर्जीले उत्पादन गरेको विद्युत नेपाल विद्युत प्राधिकरणले प्रति युनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । वि.सं. २०७८ मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत खरिद विक्रीको सम्झौता (पीपीए) गरेको थियो ।

बुलुचोकमा २२ बिगाहामा फैलिएको परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन् । परियोजनाबाट उत्पादित सौर्य विद्युतलाई एक किलोमिटरको दूरीभित्रै रहेको नेपाल विद्युत प्राधिकरणको बुलुचोक सबस्टेसनमा पुर्याएर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।