झापा, १९ पुस । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा विहीवार राति मालवाहक ट्रकले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीय लक्ष्मी साहको मृत्यु भएको छ ।
काँकडभिट्टाबाट विर्तामोडतर्फ जाँदै गरेको अवस्थामा साह सवार प्र १ –०१–०१३ प ५८८८ नं. को स्कुटरलाई पछाडिबाट पछ्याइरहेको पीबी ०२ बीआर ७७६५ नं. को मालवाहक ट्रकले पुलमा तीब्र गतिमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनु भएकी मेचीनगर–६ निवासी साहलाई तत्काल उपचारका लागि धुलाबारीस्थित मेची आम्दा अस्पताल पुर्याइएकोमा चेकजाँच गर्दा चिकित्सकहरुले राति ९ः१५ बजे मृत घोषणा गरेका थिए ।
प्रहरीले ट्रकका चालक भारत पञ्जाबको अमृतसर निवासी ३६ वर्षीय संदिप सिंहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटना भएको स्कुटी र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शब हाल मेची आम्दा अस्पतालमै रहेको छ ।
खराब डाइभर्सनले दुर्घटना बढायो
निर्माणाधीन एसियाली राजमार्गको अव्यवस्थित डाइभर्सन र हिलाम्ये चिप्लो सडकका कारण सर्वसाधारण यात्रीले चरम सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन् ।
गत पुस ५ गते साँझ विर्तामोड–६ स्थित बुट्टाबारी चिया बगान नजिक निर्माणाधीन राजमार्गको डाइभर्सनमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा भद्रपुर–९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर–७ का २५ वर्षीय शिर्षक सुबेदी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी सन्तोष राईले जानकारी दिनुभयो । दुबै जना मे ५ प ६२२२ नं. को मोटरसाइकलमा सवार भएर विर्तामोडबाट घर जाँदै हुनुहुन्थ्यो ।
राजमार्गको काँकडभिट्टा–विर्तामोड खण्डमा डाइभर्सनहरु अव्यवस्थित रहेको, ट्राफिक चिह्नहरु देख्नेगरी नराखिएको र चिप्लो माटो भरिएको सडकमा पानी खन्याएर हिलाम्ये बनाउने गरिएको सर्वसाधारणले गुनासो गरेका छन् ।
कनकाई–६ की पत्रकार सावित्रा दाहाल र मेचीनगर–९ का इभन लुइँटेलले खराब डाइभर्सनकै कारण आफुहरु राजमार्गमा दुर्घटनामा परेको बताउनु भएको छ । दाहाल र लुइँटेल दुबै जनाले लामो समय अस्पताल बसेर उपचारपछि हाल घर फर्किएको बताउनु भएको छ ।