झापा, २० पुस । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. ५ को उम्मेद्वारको रुपमा पार्टीबाट एकल सिफारिस भएको छ ।
पार्टीको शनिवार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले बताउनुभयो । झापा–५ ओलीको गृह निर्वाचन क्षेत्र हो ।
उहाँ यही क्षेत्रबाट वि.सं. २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को संसदीय चुनावमा निर्वाचित हुनु भएको थियो । तर, वि.सं. २०६० मा सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा पराजित हुनु भएको थियो । वि.सं. २०६४ मा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा उहाँ यही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।
यसैगरी, झापा निर्वाचन क्षेत्र ४ बाट तीन जनाको नाम आगामी फागुन २१ गते हुने संसदीय चुनावका लागि प्रत्यक्षतर्फको उम्मेद्वार सिफारिस भएको छ ।
उक्त क्षेत्रमा लालबहादुर साँवा लिम्बु, हिरा थापा र भोजकुमारी नेपालको नाम आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
झापामा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन् । झापा निर्वाचन क्षेत्र नं. १, २ र ३ को उम्मेद्वारको नाम आइतवारसम्ममा सिफारिस भइसक्ने उहाँले बताउनुभयो । हरेक निर्वाचन क्षेत्रबाट अनिवार्य एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पार्टीले सर्कुलर गरेको जनाइएको छ ।