झापा, २२ पुस । भद्रपुरमा नौ वर्षपछि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुँदैछ ।
झापा उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव आगामी माघ ७ देखि २१ गतेसम्म मेची रंगशालामा हुनेछ ।
संघले सोमवार पत्रकार सम्मेलन गरेर महोत्सवको बारेमा जानकारी दिएको छ । ‘समृद्धिको आधार, आर्थिक विकास ः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ महोत्सव आयोजना हुने संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले बताउनुभयो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन क्रममा निजी क्षेत्रमा समेत भएको आक्रमण र क्षतिबाट फैलिएको निराशा र त्रासलाई चिर्न महोत्सवले भूमिका खेल्ने विश्वास गरिएको छ ।
महोत्सवमा घरेलु, कृषि, पर्यटन, अन्तर्राष्ट्रिय वस्तु तथा सेवाहरूको प्रवद्र्धनका लागि एक सय भन्दा बढी स्टल रहनेछन् । रु. एक करोड २० लाख अनुमानित खर्च लाग्ने महोत्सवबाट कम्तीमा रु. १० करोडको विक्री कारोबार हुने र एक लाख अवलोकनकर्ता आउने लक्ष्य राखिएको अध्यक्ष राईले बताउनुभयो ।
महोत्सव सफल बनाउन विभिन्न ९ वटा उपसमिति गठन गरिएको छ । आदित्य पराजुली संयोजक रहने गरी आर्थिक संकलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बू संयोजक रहने गरी मञ्च व्यवस्थापन समिति, पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचारप्रसार समिति, रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकाशन समिति, अम्बिका पोखरेलको संयोजकत्वमा सुरक्षा तथा स्वयम्सेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको उहाँले बताउनुभयो ।
भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले महोत्सव सफल बनाउन भद्रपुर नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।