२७ पुष २०८२, आइतवार

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

२६ पुष २०८२, शनिवार
Image

झापा, २५ पुस । मेचीनगर नगरपालिका वडा नं. १० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर शुक्रवार एक कामदारको मृत्यु भएको छ ।

न्यू इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको पाँचतारे इस्टर्न होटलको चौथो तलाबाट भुइँमा खसेर शुक्रवार साँझ ६ः३० बजे सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. १ सिसुवाबेल्ही घर भएका २१ वर्षीय कामदार नरेशकुमार मण्डल गम्भीर घाइते भएका थिए ।

घाइतेलाई तत्कालै मेची आम्दा हस्पिटलमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा शुक्रवार साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

निर्माणाधीन भवनमा फलामको पाइप सार्ने क्रममा मण्डल चौथो तलबाट अचानक भुइँतलामा खसेका थिए । घाइते मण्डलको शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ । हाल मृतकको शब मेची आम्दा हस्पिटलमै रहेको प्रहरीले जनाएको छ ।