झापा, ३० पुस । नेपाल, भारत र भूटानको सहभागिता रहेको चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव मेचीनगर–४ को ऐतिहासिक बाहुनडाँगी बजारमा आज सुरु भएको छ ।
कोशी प्रदेश सरकारका ऊर्जा, खानेपानी तथा सिञ्चाई मन्त्री चिन्तन पाठकले तरुलबाट बनेको केक काटेर उत्सवको उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले कृषि, पर्यटन र ऊर्जा नेपालको समृद्धिको आधार भएको बताउनुभयो । उहाँले बाहुनडाँगीबासीले वर्षेनी छिमेकी देशको समेत सहभागितामा तरुल उत्सवको आयोजना गरेर रैथाने खानेकुराको प्रवर्धन र पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याइरहेको बताउनुभयो ।
नेपाल, भारत र भूटानको दुई दर्जनभन्दा बढी स्टल रहेको उत्सवमा दार्जीलिङबाट डेजी बराइली, नेपाली गायकहरु टिका भण्डारी र कमलिकान्त भेटुवालले विशेष सांगीतिक प्रस्तुति दिनु भएको थियो ।
आयोजक तरुल उत्सव समितिका संयोजक तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले वि.सं. १९९० सालदेखि बाहुनडाँगीमा हाटबजार लाग्दै आएको चर्चा गर्दै जंगली हात्तीको त्राससँग बाहुनडाँगीले जुधिरहेको बताउनुभयो ।
रैथाने खानेकुरालाई बिर्सिएर आखाद्य र मिसावटयुक्त खानेकुरामा लोभिदा मानिसको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको जनाउँदै मानिसले जंगली युगमै तरुल खाने बानी बसाएको बताउनुभयो ।
विश्वमा ६०० प्रजातिका तरुल पाइने भए तापनि नेपालमा बन तरुल, सिमल तरुल, भ्याकुर, बन तरुल, घर तरुल, सखरखण्ड (सुठुनी), इस्कुस तरुल, पताले तरुल लगायत १३ प्रजातिको तरुल खाने प्रचलन रहेको प्राध्यापक हेमराज कार्की बताउनुहुन्छ ।
भूटानबाट आउनु भएका एग्रीगेटर नेटवर्क अफ छुक्काका अध्यक्ष छिरिङ दोर्जीले तरुल उत्सवमा विक्रीका लागि भूटानमा उत्पादित अर्गानिक थुक्पा, अचार, रातो चामल लगायतका खाद्य सामग्री स्टलमा राखिएको बताउनुभयो ।
भारतको सिक्किम, दार्जीलिङ, सिलिगुरी, कोलकाता लगायतका क्षेत्रबाट रैथाने खानेकुराको स्टल उत्सवमा राखिएका छन् । इलाम नगरपालिका वडा नं. ६ पिपलबोटेका अदीक्षित खत्रीले फलाउनु भएको एक किलो ७०० ग्राम तौलको एउटै इस्कुस उत्सवमा प्रदर्शन गरिएको छ ।
कार्यक्रममा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, दार्जीलिङका पर्यटन अभियन्ता शिशिर प्रधान, कार्गिल युद्धको सहिद परिवारका सदस्य नेत्र थापा लगायतले मन्तब्य ब्यक्त गर्दै उत्सवले तीन वटा मुलुकको पर्यटन अभियानलाई जनस्तरमा जोड्ने पुलको कार्य गरेको बताउनु भएको थियो ।
चार वर्ष अघि बाहुनडाँगीमा ग्रामीण पर्यटनको प्रवर्धन गर्ने लक्ष्यका साथ सुरु गरिएको तरुल उत्सवले तेस्रो वर्ष पूरा गरेर चौथो चरणमा प्रवेश गरेको छ । विहीवार माघे संक्रान्तिसम्म सञ्चालन हुने उत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
