झापा, १ माघ । कनकाई नगरपालिकामा आज विहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ८ की ४० बर्षीया सुस्मा राजवंशी र उनका डेढ बर्षीय छोरा आरुत राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र बहादुर खड्काले बताउनुभयो ।
कनकाई–३ नयाँ बस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे१च ४५१५ न. को पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना५ख २१४९ न. को बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा बालकको तत्काल मृत्यु भएको थियो भने आमा सुस्माको उपचारकै क्रममा विर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा सुस्माका ४० बर्षीय श्रीमान आफुद राजवंशीसहित ११ जना घाइते भएका छन् । घाइतेको विर्तासिटी र विएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पिकअप चालक बिर्तामोड ६ बस्ने बर्ष ३९ का जाकिर हुसेनलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।