४ माघ २०८२, शनिवार

झापाको पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

४ माघ २०८२, शनिवार
Image

झापा, ३ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

झापा निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन समेत हेर्नेगरी जिल्ला समन्वय समिति झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रवार स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

झापा जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेल हुनुहुन्छ । जिल्लाका अरु चार वटा निर्वाचन क्षेत्रमा समेत निर्वाचन अधिकृतको कार्यालय शनिवार स्थापना भइसकेको छ ।

क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ । उक्त क्षेत्रमा गोपी विश्वकर्मा निर्वाचन अधिकृत र टेकबहादुर श्रेष्ठ सहायक निर्वाचन अधिकृत रहनु भएको छ ।

यसैगरी, अर्जुनधारा नगरपालिकाको कार्यालयमा क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्षेत्रमा निर्वाचन अधिकृतको रुपमा महेश खत्री र सहायक निर्वाचन अधिकृतको रुपमा शुक्रराज वान्तवा रहनु भएको छ ।

झापा निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय कनकार्य नगरपालिका वाड नं. १ स्थित तुरसा हेमरम प्रतिष्ठानको कार्यालयमा राखिएको छ । सो क्षेत्रको निर्वाचन अधिकृत भिमप्रसाद भुर्तेल र सहायक निर्वाचन अधिकृत क्षेत्रनाथ शर्मा हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नं. ५ को निर्वाचन अधिकृतको कार्यालय दमक नगरपालिका वडा नं. ८ स्थित अग्र्यानिक कृषि केन्द्रको भवनमा स्थापना गरिएको छ । यस क्षेत्रको निर्वाचन अधिकृत बिदुरकुमार कार्की र सहायक निर्वाचन अधिकृत जीतबहादुर श्रेष्ठ रहनु भएको छ ।

मुख्य निर्वाचन अधिकृत लुइँटेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलसहित सरोकारवालाहरुको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु भएको छ ।

झापामा २८५ वटा मतदान स्थल र ८१५ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयो । उहाँका अनुसार जिल्लामा सात ालख १३ हजार ५३७ मतदाता रहेका छन् । कूल मतदातामध्ये महिला तीन लाख ५५ हजार १८३, पुरुष तीन लाख ५८ हजार ३४६ र अन्य आठ जना रहेको उहाँको भनाई छ ।

जिल्लामा वि.संं २०७९ को प्रतिनिधिसभा चुनावको तुलनामा यसपटक ४९ मतदान केन्द्र र ५० हजार २२६ जना मतदाता थप भएको समेत उहाँले जानकारी दिनुभयो ।