४ माघ २०८२, शनिवार

सडकको दूरावस्था र चालकको लापरवाहीले सवारी दुर्घटना बढ्यो

४ माघ २०८२, शनिवार
Image

झापा, ३ माघ ।  जिल्लामा सडकको दूरावस्था र चालकको लापरवाहीले सवारी दुर्घटना बढेको छ । बिगत छ महिनामा औसत दैनिक तीन स्थानमा सवारी दुर्घटना र छ जना मानिस घाइते भएका छन् । 

आर्थिक वर्ष २०८२/८३ को चालू छ महिनामा झापामा ६०५ स्थानमा दुर्घटना भएको र त्यसबाट एक हजार ९७ जना मानिस घाइते भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख सन्तोष राईले बताउनुभयो ।

उक्त अवधिमा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । घाइते भएकामध्ये ५५ जना गम्भीर र एक हजार ४२ जना सामान्य घाइते भएका थिए ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले समुदायसँग मिलेर समेत सचेतना कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तथापि, एसियाली राजमार्गको स्तरोन्नति क्रममा पूर्वपश्चिम राजमार्गमा निर्माण कार्य भइरहँदा सडकको अवस्था नाजुक र अव्यवस्थित बनेको छ । नाजुक सडकमा लापरवाहीपूर्वक सवारी चलाउँदा दुर्घटना हुने गरेको छ ।

प्रहरीले दुर्घटना न्यूनीकरणका लागि पुस महिनामा छ हजार ५२५ वटा सवारी साधनको सडकमा चेकिङ गर्दा दुई हजार ४४५ वटा सवारी साधनलाई ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा कार्वाही गरेको जनाएको छ ।

पुस महिनामा १२० स्थानमा सवारी दुर्घटना हुँदा नौ जनाको मृत्यु र १७३ जना घाइते भएका छन् । पुसमा ७३ जना घाइतेलाई दुर्घटनास्थलबाट उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको जनाएको छ ।

मङ्सिरमा १२२ स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो । कात्तिकमा ११८ स्थानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख राईले बताउनुभयो । 

यसैगरी, असोजमा ९० मा, भदौमा ६३ र साउनमा ९२ स्थानमा सवारी दुर्घटना हुँदा क्रमशः छ जना, चार जना र तीन जनाको मृत्यु भएको थियो ।

पुस महिनामा भएको १२० वटा दुर्घटनाको विश्लेषण गर्दै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले अधिकांश दुर्घटना सवारी चालकको लापरवाहीका कारण हुने गरेको बताउनुभयो । पुस महिनामा १११ स्थानमा भएका सवारी दुर्घटनामा चालकको लापरवाही पाइएको उहाँले जानकारी दिनुभयो ।