११ फागुन २०८२, सोमवार

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ ः अध्यक्ष ओली

११ फागुन २०८२, सोमवार
Image

दमक, ११ फागुन ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताउनुभएको छ ।

अध्यक्ष ओलीले आज दमकमा आयोजित कोशी प्रदेश कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताउनुभयो । 

उहाँले आन्दोलनको नाममा विगतमा जस्तो देश जलाउन र प्रहरीको हतियार खोस्न अब कसैले नसक्ने दाबी गर्नुभयो । नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित हुने र प्रहरी प्रशासनलाई सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो जनताको शक्ति हो र अनुशासनमा बसेर काम गर्छ ।” 

अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।  नेकपा एमालेले कोशी प्रदेश स्तरीय नेशनल युथ फोर्स गठन गरेको उहाँको भनाई छ । उहाँले चुनावी सभालाई सम्बोधन गर्दै देशभरका जिल्लाका सदरमुकामहरु सडक सञ्जालमा जोडिसकेको बताउनुभयो । 

उहाँले कोशी प्रदेशको ताप्लेजुङबाट ओलचुङगोलसम्मको सडक खोलिएको र कालो पत्रे हुँदै गइरहेको बताउँदै भन्नुभयो “हाम्रो काम भनेको विकास गर्ने हो, यस ठाउँबाट मात्र होइन हरेक स्थानमा पुल बाटा बनाइएको र कृषिलाई आधुनिकरण गरिएको छ ।”