झापा, १४ फागुन ः आसान्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रकोे नेतृत्व महिलाले पाएका छन् ।
भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशालामा रहेको मतदान स्थलका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिनुभयो ।
उहाँले रंगशालामा तीन वटा मतदान केन्द्र रहेका बताउँदै भन्नुभयो, “यहाँको मतदान अधिकृतदेखि कर्मचारी, प्रहरीसमेत महिलालाई तोकिएको छ ।” उहाँका अनुसार मतदान स्थलको ‘क’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रती रहनु भएको छ भने सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे हुनुुहुन्छ ।
‘ख’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा विशेष नापी कार्यालय दमककी सृजना पन्त रहनु भएको छ भने सहायक मतदान अधिकृतमा जुनु पोखरेल रहनु भएको छ । ‘ग’ केन्द्रको बुथमा भद्रपुर नगरपालिकाकी गोमा दाहाल हुनुहुन्छ भने सहायकमा प्रतिमा राई रहनु भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका पाँच वटै निर्वाचन क्षेत्रका मतदान अधिकृतहरुलाई धमाधम निर्वाचन सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिरहेको कार्यालयमा प्रमुख तुलसी नेपालले बताउनुभयो ।
झापामा सात लाख १३ हजार ५३७ जना मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदान स्थल रहेका छन् । यहाँ ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी खटाइएको उहाँको भनाई छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको कार्यालयले जनाएको छ ।