१५ फागुन २०८२, शुक्रवार

झापामा चैत धान रोपाई सुरु, क्षेत्रफल घट्ने

१५ फागुन २०८२, शुक्रवार
Image

झापा,१५ फागुन । जिल्लामा चैते धानको रोपाई सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइ सुरु भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । 

चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

उहाँले परम्परागत खेती प्रणालीको तुलनामा मेसिनको प्रयोगमा जिल्लामा धान खेती गर्ने प्रचलन बढ्दै गएकाले रोप्नका लागि कतै विउ तयार भइसकेको त कतै विउ राख्ने काम भइरहेको बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा १० वटा धान रोप्ने मेसिन (ट्रान्सप्लान्टर) हरु रहेका छन् । 

प्रमुख विष्टका अनुसार गत वर्ष जिल्लामा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको भए तापनि यस वर्ष किसानहरूको आकर्षण मकै खेतीतर्फ बढेकाले १५ देखि २० प्रतिशतले धान खेतीको क्षेत्रफल घट्ने देखिएको हो ।

गत वर्ष चैते धानको मूल्य प्रतिमन (४० केजी) रु.सात सय मात्र रहेकाले उचित प्रतिफल नपाउँदा किसानहरू निराश भई वैकल्पिक बालीतर्फ मोडिएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गत बर्षको मूल्यकै कारण किसानको चैते धान खेतीतर्फ खासै ध्यान गएन ।” धानको बीउ आपूर्ति गर्ने कम्पनीहरूले बीउ समेत यस वर्ष सोचे अनुरूप बिक्री गर्न नसकेको जनाएका छन् । 

जिल्लामा विशेष गरी ’हर्दिनाथ–१’ जातको धान बढी लगाउने गरिए पनि यस पटक मोरङको आरजु राइस मिलले ’हर्दिनाथ–६’ जातको धान प्रतिमन रु. एक हजारमा खरिद गर्ने पूर्वसहमति गरेपछि किसानहरूले उक्त जातको धान पनि लगाउन सुरु गरेका छन् । 

बिक्रीको सुनिश्चितता र तुलनात्मक रूपमा राम्रो मूल्य तोकिएकाले ’हर्दिनाथ–६’ तर्फ किसानको चासो बढेको भए तापनि धेरैजसोले अझै ‘हर्दिनाथ–१’ लाईनै प्राथमिकतामा राखेको उहाँको भनाई छ ।

यसै गरी कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लामा ’छरुवा धान’ प्रविधिलाई पनि प्रोत्साहन दिइएको छ । केन्द्रले हरेक वर्ष नयाँ स्थानहरू पहिचान गरी किसानलाई यो प्रविधि अपनाउन प्रोत्साहित गर्दै आएको छ भने पुराना किसानले आफैं यसलाई निरन्तरता दिइरहेका छन् । 

छरुवा प्रविधिबाट धानको उत्पादन राम्रो हुने भए तापनि प्राविधिक पक्षमा ध्यान नदिँदा किसानलाई झार नियन्त्रणमा समस्या आउने गरेको प्रमुख विष्टको भनाई छ । धान खेतीका लागि चाहिने रासायिक मलको जिल्लामा अभाव नरहेको उहाँले जानकारी दिनुभयो ।