१९ फागुन २०८२, मङ्गलवार

पूर्वीनाकामा बुधवारदेखि थप कडाई गरिने

१९ फागुन २०८२, मङ्गलवार
Image

झापा, १९ फागुन । जिल्ला प्रशासन कार्यालय झापाले पूर्वीनाका काँकडभिट्टास्थित नेपाल–भारत सीमामा बुधवारदेखि थप कडाई गर्ने जनाएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रशासनले सोमवार मध्यराति १२ बजेदेखि फागुन २१ गते मध्यराति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईले सोमवारदेखि ‘बोर्डर शिल’ भए पनि पहिल्यैदेखि काम विशेषले भारत गएका र अहिले मतदानका लागि आउन चाहेका नेपाली नागरिकहरुलाई आज सीमाबाट प्रवेश गर्न दिइएको बताउनुभयो । सिकिस्त बिरामीहरुको उपचार प्रयोजनका लागि भारत जान चाहनेहरुलाई समेत आज नाकामा रोक नलगाइएको उहाँले बताउनुभयो । 

“मतदानका लागि आउने नेपाली नागरिकहरुलाई आज नाकामा कागजात अध्ययन गरेर प्रवेश दिइयो,” उहाँले भन्नुभयो– “निर्वाचनको सम्वेदनशीलतालाई ध्यानमा राखेर भोलि (बुधवार)देखि सीमामा थप कडाई गरिनेछ । कसैलाई पनि आवतजावत गर्न दिइनेछैन ।”

आज काँकडभिट्टा नाकाबाट १४६ जना नेपाली नागरिक आफूसँग भएको कागजात देखाएर नेपाल प्रवेश गरेका छन् भने ९० जना भारततर्फ गएका छन् । नेपाल प्रवेश गर्नेहरुमा भारतको विभिन्न सहरमा रोजगारीका लागि गएकाहरु छन् । उनीहरु मतदानका लागि नेपाल आएका हुन् भने भारततर्फ अधिकांश उपचार प्रयोजनका लागि गएका छन् । झापा जिल्लामा भारतसँग १४८ किलोमिटर सीमा जोडिएको छ ।