मेचीनगर, १६ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाले ज्येष्ठ पत्रकारहरुलाई पेन्सनस्वरुप वार्षिक वृत्ति (भत्ता) वितरण गरेको छ ।
काँकरभिट्टामा महासंघको ७१ औं स्थापना दिवसको अवसरमा आज आयोजित ‘पत्रकारिताको शुद्धीकरण र सुदृढीकरण’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक भत्ता वितरण गरेको हो ।
महासंघले सदस्यहरुको औषधोपचार र सहयोगका स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट २०८० सालदेखि ज्येष्ठ पत्रकारहरुलाई वार्षिक पेन्सन वितरण गर्दै आएको छ ।
वार्षिक भत्ता स्वरुप ६५–७५ वर्ष उमेरका पत्रकारलाई रु. १५ हजार र सोभन्दा माथिकालाई रु. २० हजारका दरले भत्ता दिइँदै आएको छ ।
वार्षिक भत्ता पाउने ज्येष्ठ पत्रकारहरुमा गोविन्द चन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लक्ष्मण ढकाल, शिरोमणि खतिवडा, विष्णुकुमार भट्टराई, चुडामणि वशिष्ठ, लेखनाथ परदेशी, लीला बराल, गोपाल गिरी र लक्ष्मी लुइँटेल हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् महासंघका कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्काले रकम वितरण गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष खड्का, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी, कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
महासंघका सचिव राजु पाठकले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत कोषाध्यक्ष मुक्ति पौडेलले गर्नु भएको थियो ।
(फोटो ः शब्द दृश्य)