१९ चैत २०८२, बिहिवार

झापामा कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव

१९ चैत २०८२, बिहिवार
Image

झापा, १९ चैत । कोशी प्रदेश र भारतको पश्चिम बंगाल प्रान्तको सांस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्रहरुको साझा प्रवर्धनका लागि आगामी चैत २४ र २५ गते विर्तामोडमा ‘कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन’ उत्सव हुने भएको छ ।

विर्तामोडको सिटी सेन्टरमा आयोजना हुने उत्सवमा नेपालका १८ र भारतका १२ वटा गरी ३० वटा स्टल रहने पर्यटन कार्यालय काँकडभिट्टाले जनाएको छ । 

कार्यालयका प्रमुख छवि खतिवडाका अनुसार उत्सवबाट सीमापार पर्यटनमा सहकार्यको महत्त्वपूर्ण ढोका खुल्ने र कोशी प्रदेशको पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ । 

उत्सव सञ्चालनका लागि पर्यटन व्यवसायी इन्दिरा श्रेष्ठको संयोजकत्वमा कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव आयोजक समिति गठन गरिएको छ । उत्सवले नेपाल र भारतबीचको सांस्कृतिक निकटतालाई अझ बलियो तुल्याउने र सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सघाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उत्सवमा राखिने स्टलहरूमा स्थानीय खानाका परिकार, हस्तकलाका सामग्री, पर्यटन प्याकेज तथा सेवाका कार्यक्रमहरु लगायत रहने जनाइएको छ । उत्सवमा ट्राभल व्यवसायी, होटल व्यवसायी र होमस्टे सञ्चालकहरूको सक्रिय सहभागिता रहने छ । 

कार्यक्रममा सांस्कृतिक नृत्य, फोटो तथा चित्रकला प्रदर्शनी जस्ता गतिविधि राखिने र दुई देशका बीच दीर्घकालीन पर्यटन विकासका सम्भावनाहरुको खोजी गर्दै नेपाल–बंगाल पर्यटन सर्किटको बारेमा छलफल चलाइने भएको छ ।