३० चैत २०८२, सोमवार

युवाका लागि आध्यात्मिक जागरण कार्यक्रम

३० चैत २०८२, सोमवार
Image

झापा, ३० चैत । “राष्ट्रका लागि युवा, युवाका लागि अध्यात्म” भन्ने नारासहित नेपाल मानव धर्म सेवा समितिको युवा संगठनद्वारा आयोजित “आध्यात्मिक जागरण कार्यक्रम २०८२” सफलतापूर्वक सम्पन्न भएको छ।

चैत्र २७ र २८ गते दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रमले आध्यात्मिक, सामाजिक तथा स्वास्थ्य चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

कार्यक्रम मेची क्षेत्र प्रमुख माहात्मा सुवर्ण बाइजीको अध्यक्षतामा सम्पन्न भएको थियो भने वरिष्ठ माहात्मा लता बाईजी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै भारतको दार्जिलिङस्थित मानव उत्थान सेवा समितिका सह–सचिव चन्दन लकान्द्री विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पहिलो दिन साँझ ७ बजे सन्ध्या आरतीसँगै ध्यान साधना कार्यक्रम सुरु भएको थियो। राति १० बजेसम्म सञ्चालन भएको भजन सन्ध्या कार्यक्रममार्फत सम्पूर्ण वातावरण आध्यात्मिकमय बनेको थियो। उक्त कार्यक्रममा सांस्कृतिक विभागका सह–संयोजक इन्द्र प्रधान, नेपाल आइडल सिजन–८ का फाइनलिस्ट तथा जि बंगला सारेगमपाका फाइनलिस्ट आर्यन तामाङ, दार्जिलिङकी स्मृति भुजेल, मनीषा विक लगायतले भजन प्रस्तुत गरेका थिए। साथै जिनिसेस गुरुकुल, गान्तोक (सिक्किम)का गुरु तथा संस्थापक बासुरीवादक प्रितम क्षेत्री र वरिष्ठ तबला वादक तथा प्रशिक्षक दिनेश घिमिरेको जुगलबन्दीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

दोस्रो दिन बिहान ५ः३० बजेदेखि योग अभ्यास कार्यक्रम सम्पन्न गरिएको थियो, जसमा सहभागीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। त्यसपछि मेचीनगर नगरपालिका–१० स्थित मेची नगर आधारभूत अस्पताल परिसरमा सरसफाइ कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

कार्यक्रमअन्तर्गत तत्काल भाषण प्रतियोगिता पनि सम्पन्न भएको थियो, जसमा ११ जना प्रतियोगीहरूले समसामयिक विषयहरूमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

दोस्रो दिनको मुख्य कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा सांस्कृतिक विभाग प्रमुख उत्तम गिरीले आध्यात्मिक प्रवचनमार्फत महत्वपूर्ण सन्देश प्रवाह गर्नुभएको थियो। साथै संस्थाका मेची क्षेत्र अध्यक्ष दशरथ राई तथा कार्यक्रमका अध्यक्ष एवं मेची क्षेत्र प्रमुख माहात्मा सुवर्ण बाइजीले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, साधक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा भजन, आरती तथा विविध सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। उक्त अवसरमा द भ्वाइस अफ नेपाल सिजन–५ का फाइनलिस्ट आश्विन लालाहाङ राईको विशेष प्रस्तुति रहेको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

आयोजकका अनुसार, यस कार्यक्रमले आध्यात्मिक जागरणसँगै युवाहरूलाई अध्यात्मप्रति प्रेरित गर्दै सामाजिक एकता, स्वास्थ्य सचेतना तथा सकारात्मक जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। कार्यक्रममा स्वागत मन्तव्य युवा सङगठन मेची संयोजक आशिष संग्रौलाले राखेका थिए भने कार्यक्रम सन्चालन युवा सङगठन केन्द्रीय सदस्य रोशन घिमिरेले गरेका थिए ।