झापा, २९ बैशाख । मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ ।
पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलमा सोमवार साँझ दीप प्रज्ज्वलन गरी सुरु भएको उद्धार यात्रा जेठ २२ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने जनाइएको छ ।
आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवम् गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शुभारम्भ समारोहलाई संक्षिप्त सम्बोधन गर्नु भएको थियो ।
मानव सेवा आश्रमले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार र सामाजिक पुनर्मिलनका लागि योागदान पुर्याउँदै आएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवम् गायिका आनी छोइङ डोल्माले मानवताको सेवा नै जीवनको सर्वोत्तम धर्म भएको धारणा राख्दै उद्धार अभियानमा सहयोग पुर्याउन सबै देशबासीलाई आह्वान गर्नु भएको छ ।
आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा तेस्रोपटक यो अभियान सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उहाँकै नेतृत्वमा २६ जना स्यम्सेवकले मेची महाकाली यात्रामा सडक मानवहरुको उद्धार गरी जिल्लास्थित आश्रमहरुमा राखिने भएको छ ।
सातै प्रदेशका १९ जिल्लामा मानव सेवा आश्रमको २३ ओटा शाखा सञ्चालनमा रहेका छन् । आश्रमले मुलुकको ७७ वटै जिल्लाबाट आफन्तको साथ गुमाएका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार एवं तीनको मानवोचित व्यवस्थापन गराउँदै आइरहेको छ ।