झापा, ११ असार। मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. एक अर्ब ४५ करोड ६२ लाख ५७ हजार ९८६ को अनुमानित बजेट ल्याएको छ ।
उपप्रमुख मीना उप्रेतीले वुधवार नगरपालिकाको नवौ अधिवेशनमा चालू आवको भन्दा रु. ३६ करोड ४४ लाख २८ हजार ४५३ कम बजेट प्रस्तुत गर्नु भएको छ । चालू आव २०८२/८३ मा नगरपालिकाले रु. एक अर्ब ८२ करोड छ लाख ८६ हजार ४३९ को बजेट ल्याएको थियो ।
मेचीनगरले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको ठूलो हिस्सा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि विनियोजन गरेको छ ।
नगरपालिकाले बजेटको स्रोतमध्ये रु. १७ करोड ९० लाख आन्तरिक आयबाट संकलन गर्ने लक्ष्य लिएको छ । बाँकी स्रोतका रूपमा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाड रहेका छन् । नगरपालिकाले चालू आव २०८२/८३ मा रु. १८ करोड आन्तरिक आयको अनुमान गरेको थियो ।
संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट रु. २४ करोड ७४ लाख, सशर्त चालू अनुदानबाट रु. ५१ करोड ६३ लाख, सशर्त पूँजीगत अनुदानबाट रु. सात करोड २३ लाख, विशेष अनुदानबाट रु. ७९ लाख, समपूरक अनुदानबाट रु. ५५ लाख र राजस्व बाँडफाँटबाट रु. १८ करोड ७७ लाख आय प्राप्त हुने नगरपालिकाको बजेटमा उल्लेख छ ।
कोशी प्रदेश सरकारको समानीकरण अनुदानबाट रु. दुई करोड ३७ लाख ८६ हजार, सशर्त चालू अनुदानबाट रु. एक करोड १० लाख ७७ हजार, पूँजीगत अनुदानबाट रु. चार करोड १४ लाख, राजस्व बाँडफाँटबाट रु. एक करोड ६१ लाख ५७ हजार ४४६ र समपूरक अनुदानबाट रु. ६० लाख आय प्राप्त हुने मेचीनगर नगरपालिकाको अनुमान छ ।
प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले नगरको नीति तथा कार्यक्रममा सहरी विकास सम्बन्धी योजनालाई प्राथमिकतामा राखिएको बताउनुभयो । वातावरणमैत्री र ऊर्जा प्रभावकारी प्रवर्धन भवनका लागि सुलभ व्याजदरको घर कर्जा उपलब्ध गराउन आवश्यक पहल गरिने उहाँले जानकारी दिनुभयो ।
आपतकालीन सेवा प्रवाहमा सहजता ल्याउन र डिजिटल डेलिभरी सेवा विस्तारमा सहयोग पुर्याउन नगरपालिका क्षेत्रभित्रका घर तथा बाटोको नामाकरण गरी जीआइएस प्रणालीमा आवद्ध गरिने नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा उल्लेख छ ।
सार्वजनिक जग्गा र ऐलानी जग्गा पहिचान गरी सोको लगत राखिने र तथ्यांकको आधारमा नीति बनाउने कार्य सोही आवमा कार्यान्वयन गरिने जनाइएको छ ।