१६ असार २०८३, मङ्गलवार

बेमौसमी पानी र असिनाले झापामा मकै उत्पादन घट्यो

१६ असार २०८३, मङ्गलवार
Image

झापा, १६ असार । धानपछि दोस्रो खाद्यान्न बालीको रुपमा रहेको मकैखेतीको उत्पादन यस बर्ष घटेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।  

केन्द्रको तथ्याङक अनुसार विगत तीन बर्षको तुलनामा मकै खेतीको उत्पादनमा यसबर्ष कमी आएको हो । जिल्लामा गतबर्षको तुलनामा ६८ हजार मेट्रिक टन मकैको उत्पादन घटेको हो ।

चालु आर्थिक बर्ष २०८२÷८३ दुई लाख ८३ हजार १८७ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । उहाँले जिल्लामा ४६ हजार १२५ हेक्टर जमिनमा किसानले मकै खेती लगाएको जानकारी दिनुभयो । 

उहाँले गत फागुनको अन्तिम साता र चैतको पहिला साता आएको हावाहुरीसहितको बेमौसमी असिना पानीले ठूलो क्षति गर्दा मकैको उत्पादन घटेको बताउनुभयो । “बाह्रदशी, झापा र गौरादहतिरका किसान ठूलो मारमा परेका छन्”, उहाँले भन्नुभयो, “कूल क्षेत्रफलको करिब नौ हजार हेक्टर जमिनको मकै असिना, पानी र हुरीले सखाप पार्दा डेढ अर्बको क्षति भयो ।”

झापामा मकैको प्रतिहेक्टर उत्पादकत्वमा भने वर्षैपिच्छे सामान्य वृद्धि भइरहेको सुखद तथ्याङ्क छ । आर्थिक वर्ष २०८०÷८१ मा प्रतिहेक्टर ७.८७ मेट्रिक टन उत्पादकत्व रहेकोमा आ.व. २०८१÷८२ मा बढेर ७.८८ र आ.व. २०८२÷८३ मा ७.८ मेट्रिक टन पुगेको छ । यसले जिल्लामा आधुनिक कृषि प्रविधि वा उन्नत बीउको प्रयोगका कारण माटोको उत्पादक क्षमता राम्रो रहेको सङ्केत गर्छ ।

उत्पादकत्व बढे पनि मकैको कुल उत्पादन र उत्पादनशील क्षेत्रफलमा भने पछिल्लो वर्ष अनपेक्षित गिरावट आएको छ । आर्थिक वर्ष २०८०÷८१ मा ४४ हजार ३५ हेक्टर क्षेत्रफलमा मकै खेती भई ३ लाख चार हजार ३५ मेट्रिक टन उत्पादन भएको थियो । आ.व. २०८१÷८२ मा क्षेत्रफल सामान्य बढेर ४४ हजार ६२ हेक्टर पुग्दा कुल उत्पादन पनि बढेर ३ लाख ५१ हजार ४२६ मेट्रिक टन पुगेको थियो । तर आ.व. २०८२÷८३ मा मकैको कुल क्षेत्रफल ४६ हजार १२५ हेक्टर रहे तापनि वास्तविक उत्पादनशील क्षेत्रफल घटेर ३५ हजार ८९२ हेक्टरमा सीमित हुन पुग्यो । 

उहाँले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत संघीय र प्रदेशको कृषि मन्त्रालयमा क्षतिपूर्तिका लागि आवश्यक सामाग्री पठाइसकिए पनि बजेट भने हालसम्म नआएको बताउनुभयो ।