झापा, १९ असार । नेपालमा कूल जनसंख्याको लगभग दुई प्रतिशत हिस्सा ओगटेका ‘अन्तरलिंगी’ व्यक्तिहरू अझै पनि परिवार र समाजबाटै गहिरो बहिष्करण, विभेद्, लाञ्छना र हिंसा भोग्न बाध्य छन् । मेचीनगरमा बिहीवार आयोजित सरोकारवालासँगको छलफल कार्यक्रममा यो संवेदनशील यथार्थ बाहिर आएको हो ।
‘क्याम्पेन फर चेन्ज’ नामक गैरसरकारी संस्थाका कोशी प्रदेश फिल्ड अफिसर प्रेम थापाका अनुसार एक वा एकभन्दा बढी जन्मजात यौन विशेषताहरूको शारीरिक विविधता लिएर जन्मेका व्यक्तिहरूलाई बुझाउन ‘अन्तरलिंगी’ शब्दको प्रयोग गरिन्छ । वैज्ञानिक रूपमा अन्तरलिंगी व्यक्तिहरूमा ४७ प्रकारका शारीरिक विविधता पुष्टि भइसकेको जानकारी दिँदै उहाँले यो समुदाय र उनीहरूका परिवारमाथि हुने सामाजिक विभेदको तत्काल अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
मेचीनगर नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा बोल्दै थापाले अन्तरलिंगी हुनु कुनै खोट र पूर्वजन्मको पाप नभई विशुद्ध प्राकृतिक विविधता भएको प्रष्ट पार्नुभयो । उहाँका अनुसार अन्तरलिंगी व्यक्तिको पहिचान बच्चा जन्मने बेला, बाल्यकाल, किशोरावस्था वा वयस्क अवस्थामा हुन सक्छ ।
“यौनांग, प्रजनन अंग, क्रोमोजोम र हर्मोन जस्ता शारीरिक विशेषताको विविधता लिएर जन्मने भएकाले लैंगिक पहिचानका परम्परागत सामाजिक र चिकित्सा मापदण्डका परिभाषाहरूमा उनीहरू हुबहु मिल्दैनन्” –उहाँले भन्नुभयो ।
‘अन्तरलिंगी’ भएकै कारण अन्तरलिंगी व्यक्ति र उनीहरुको परिवारले सामाजिक विभेदको सामना गरिरहेको उदाहरण दिदै उहाँले शौचालय जाँदा दूव्र्यवहार हुने गुनासो सम्बोधन नगरिदा झापाका एक अभिभावकले आफ्नी ‘अन्तरलिंगी’ छोरीलाई निजी विद्यालयबाट स्थानान्तरण गर्नु परेको जानकारी दिनुभयो ।
“झापाकै अर्को घटना हो, ‘अन्तरलिंगी’ छोरी जन्मिएपछि १२ वर्षदेखि उनका वुवा मलेसियाबाट घर आएका छैनन्,” उहाँले विभेद् भएका घटना सुनाउँदै भन्नुभयो– “आफूलाई धार्मिक हुँ भन्ने अर्का एक बाबुले ‘अन्तरलिंगी’ छोरीले पकाएको खाना खाने गरेका छैनन् । यस्ता विभेद् र हिंसाका घटना धेरै छन् । पीडितहरुले यस्ता व्यथाहरु आफैभित्र गुम्स्याएर राख्ने गरेका छन् ।”
नेपालको संविधानले सबैले समान अधिकारका साथ बाँच्न पाउने हक सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले ‘अन्तरलिंगी’हरुले आफ्नो पहिचान आफैले रोज्न पाउनु पर्ने, शिक्षा र स्वास्थ्यमा विभेद्रहित पहुँच पाउनु पर्ने, भ्रुण पहिचान गरेर गर्भावस्था र जन्मिसकेपछि ‘अन्तरलिंगी’हरुको हत्या हुने गरेकोमा त्यसलाई रोक्नु पर्ने र जन्मदर्तामा रहेको पहिचान नमिल्न गएमा सच्याउन पाउनु पर्ने माग गर्नु भएको छ ।
कोशी प्रदेशमा २९ जना ‘अन्तरलिंगी’ व्यक्तिहरु आफ्नो संस्थाको सम्पर्कमा आएको र पहिचान लुकाएर बस्न बाध्य अरुहरुसँग सम्पर्कको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
मेचीनगर नगरपालिकाकी महिला, वालवालिका तथा यौनिक अल्पसंख्यक शाखाकी प्रमुख जयन्ती खरेलले स्थानीय सरकारको तर्फबाट यौनिक अल्पसंख्यक समुदायको हक र हितका लागि बिगतदेखि सहयोग पुर्याउँदै आएको उल्लेख गदै ‘अन्तरलिंगी’हरुका लागि समेत पालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।