३१ असार २०८३, बुधवार

भानु जयन्तीमा तीन झापाली प्रतिभा सम्मानित, डा. भण्डारीद्वारा पुरस्कार रकम अक्षयकोषलाई अर्पण

३० असार २०८३, मङ्गलवार
Image

मेचीनगर, ३० असार । भानु साहित्यिक प्रतिष्ठानको आयोजनामा तीन जना झापाली स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्दै २१३ औं भानु जयन्ती मेचीनगरको काँकरभिट्टामा सोमवार भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा गीत, सङ्गीत, अनुसन्धान तथा लेखन क्षेत्रमा क्रियाशील रेडियो नेपालका पूर्व निर्देशक डा. टीका भण्डारीलाई एक लाख रुपैयाँ राशिको ‘भानु राष्ट्रिय पुरस्कार’ तथा सम्मानपत्रद्वारा सम्मानित गरियो । 


यसैगरी, अनुवाद, लेखन, पत्रकारिता तथा सांस्कृतिक उत्थानमा सक्रिय प्राज्ञ पवन राजवंशीलाई २५ हजार रुपैयाँ राशिको ‘कृष्ण पवित्रा उप्रेती कला संस्कृति पुरस्कार’ प्रदान गरियो । गीत, गायन, नृत्य तथा जैविक खेती प्रणालीमा योगदान पुर्‍याउँदै आएका झापा सुरुङ्गा निवासी टीका भट्टराई ‘नेपाल’ लाई नगद २५ हजार रुपैयाँसहित ‘हेमराज मेदिनी खरेल साहित्य पुरस्कार’ बाट सम्मानित गरियो ।

सम्मानित व्यक्तित्व डा. टीका भण्डारीले पुरस्कारवापत प्राप्त गर्नुभएको एक लाख रुपैयाँ नगद आफूले अध्ययन गरेको बुद्धशान्तिस्थित शान्ति आदर्श माध्यमिक विद्यालयलाई प्रदान गर्ने घोषणा गर्नुभएको छ । आफ्ना मातापिताको स्मृतिमा अक्षयकोष स्थापनाका लागि डा. भण्डारीले सोही समारोहबीच विद्यालयका पूर्व प्रधानाध्यापक शिवकुमार पौड्याललाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

समारोहमा कवि प्रस्तुति वस्तीद्वारा अङ्ग्रेजी भाषामा लिखित कृति ‘इकोज अफ एटर्निटी’को प्रमुख अतिथि प्रा.डा. भीम खतिवडाले लोकार्पण गर्नुभएको थियो भने शिक्षक सुवर्ण भट्टराईले उक्त कृतिको समीक्षा गर्नुभएको थियो । आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरी सुरु गरिएको कार्यक्रममा दामोदर ढुङ्गेलले आदिकविको जीवनीमाथि प्रकाश पार्नुभएको थियो । सो अवसरमा आयोजित भानु विषयक प्रतियोगितात्मक कवि गोष्ठीका विजयी कविहरूलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षता तथा प्रा.डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल र भारतका स्रष्टाहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि खतिवडा, सम्मानित व्यक्तित्व डा. टीका भण्डारी, भारतको सिलगढीबाट आउनुभएका ‘शब्द समय’ का भाषा सङ्ग्रामी, कवि तथा समालोचक ज्ञानेन्द्र खतिवडा, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक दुर्गा आचार्य र अग्रज पत्रकार चन्द्र भण्डारीले मन्तव्य राख्नुभएको थियो । प्रतिष्ठानका उपाध्यक्ष सुशील आचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी उप्रेतीले गर्नुभएको थियो ।