झापा । जनपक्षीय पत्रकार तथा साहित्यकार स्वर्गीय देवकुमार आचार्य (डी कौडिन्य) को स्मृतिमा स्थापित ‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८३’ यस वर्ष पत्रकार चुडामणी तिम्सिना (सिएम शर्मा) लाई प्रदान गरिने भएको छ।
प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति झापाद्वारा स्थापित उक्त पुरस्कार ठोस खबर डटकमका सम्पादक तिम्सिनालाई प्रदान गर्ने निर्णय गरिएको हो। झापाको बिर्तामोडमा शुक्रबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको प्रेस सेन्टर झापाका सचिव प्रकाश उप्रेतीले जानकारी दिए।
आगामी साउन ७ गते स्वर्गीय आचार्यको स्मृति दिवसका अवसरमा बिर्तामोडमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच यो पुरस्कार वितरण गरिनेछ। प्रत्येक वर्ष प्रदान गरिने यस पुरस्कारको राशि नगद ४२ हजार रुपैयाँ रहेको छ।
जनपक्षीय पत्रकार तथा साहित्यकार देवकुमार आचार्य (डी कौडिन्य) लाई तत्कालीन शाही नेपाली सेनाले २०५९ साउन ७ गते पक्राउ गरेर चारआली ब्यारेकमा लगी हत्या गरेको थियो। क्रान्तिकारी पत्रकार आचार्यको योगदानको सम्मान र सम्झनामा प्रेस सेन्टरले यो पुरस्कारको स्थापना गरेको हो।